काठमाडौं, भदौ १० । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरूका इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने सम्बन्धी सम्झौता भएको छ ।
गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भाद्र १० गते आयोजित कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्नुहुँदै ग्यासको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरूप प्राधिकरणले काम गरिरहेको बताउनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुहुँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो । सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।
सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्नेछ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।