हरियाणा, भदौ १२ । 'पासा' भनेर चिनिने ओमप्रकाश भारतको उत्तरी राज्य हरियाणाका प्रहरीले सर्वाधिक खोजी गरेका व्यक्तिको सूचीमा थिए। सन् १९९२ मा असफल डकैती र हत्याका आरोपित १ व्यक्ति फरार भएपछि उक्त मुद्दा त्यसै बन्द गरिएको थियो।
भारतीय सेनाका पूर्वकर्मचारी रहेका उनलाई प्रहरीले डकैती र हत्याको आरोपमा ३० वर्षदेखि खोजिरहेको थियो। छिमेकी उत्तर प्रदेशमा उनी आममान्छे सरह घुलमिल भएर बसिरहेका थिए। त्यहाँ उनले नयाँ कागजपत्र बनाए, स्थानीय महिलासँग विवाह गरे र ३ जना सन्तान हुर्काए।
ओम प्रकाश को हुन् र उनीमाथि के आरोप छ ?
ओम प्रकाश हरियाणाको पानीपत जिल्लाको नरिआना गाउँका बासिन्दा हुन्। प्रहरी अधिकारीका अनुसार, 'ओम प्रकाशले भारतीय सेनाको सिग्नल युनिटमा १२ वर्षसम्म ट्रक चालकको काम गरे। ४ वर्षसम्म सेवामा हाजिर नभएको आरोपमा उनलाई सन् १९८८ मा फौजबाट बर्खास्त गरिएको थियो।' हत्याको आरोप लाग्नुअघि पनि कैयौँ पटक उनीमाथि कानुन मिचेको आरोप लागेको थियो। सन् १९८६ मा उनीमाथि कार चोरेको आरोप लागेको थियो।
त्यसको ४ वर्षपछि उनीविरुद्ध मोटरसाइकल, सिलाउने मशिन र स्कुटर चोरीको आरोप लागेको थियो। यी अपराधहरू विभिन्न जिल्लामा भएको र कतिपयमा उनी पक्राउ परेका र धरौटीमा रिहा भएका थिए। सन् १९९२ को जनुवरीमा ओमप्रकाश र अर्का १ व्यक्तिले मोटरसाइकलमा यात्रा गरिरहेका १ व्यक्तिमाथि लुटपाटको प्रयास गरेका थिए।
'ती व्यक्तिले प्रतिरोध गरेपछि उनीहरूले चक्कु प्रहार गरे। जब उनीहरूले गाउँलेहरू आफूहरूतिर आइरहेको देखे स्कुटर छाडेर उनीहरू भागेका थिए।' दोस्रो व्यक्तिलाई पक्राउ गरिएको थियो। उनले धरौटीमा रिहा हुनुअघि ७-८ वर्ष जेलमा बिताए।
तर ओमप्रकाश बेपत्ता भए र त्यसको केही समयपछि उक्त मुद्दाको सुनुवाइ रोकियो। प्रहरीले उनलाई एक 'घोषित अपराधी' को सङ्ज्ञा दियो र उनको फाइल त्यसै एउटा कुनामा थन्काइयो।
आफ्नो गिरफ्तारीपछि उनले प्रहरीलाई हत्याको आरोप पछिको आफ्नो पहिलो वर्ष दक्षिण भारतको तामिलनाडु र आन्ध्र प्रदेशका मन्दिरहरूमा आश्रय लिएर बिताएको बताएका थिए। त्यसको १ वर्षपछि उनी उत्तर भारतमा फर्किए, तर घर गएनन्। बरु १८० किलोमिटर पर गाजियाबादमा ट्रक चालकको रूपमा काम थाले र उनले आफूलाई स्थापित गराए।
राजकुमारीसँग उनले सन् १९९७ मा विवाह गरेका थिए। सन् १९९० को दशकमा उनले चलचित्रहरूका भिडिओ रिकर्डहरू पनि विक्री गर्ने र भाडामा लगाउने काम गरेका थिए। उनकी श्रीमतीका अनुसार समुदायमा उनी बजरङ्ग बली वा बजरङ्गीका रूपमा परिचित थिए।
सन् २००७ देखि उनले स्थानीय हिन्दी भाषाका चलचित्रहरूमा सङ्क्षिप्त अभिनय समेत गर्ने गरेका थिए। ती चलचित्रमा उनले गाउँको मुखिया, खलनायक, प्रहरी हवलदार, चलचित्रका संवाद र गीतमा पनि काम गरे। एउटा चलचित्र टकराव यूट्यूबमा ७६ लाख पटक हेरिएको पनि थियो।
'उनले नयाँ आधिकारिक कागजपत्रहरू बनाएर मतदाता परिचयपत्र र आधारकार्ड समेत बनाएका थिए।' ओम प्रकाशले एउटा गम्भीर गल्ती गरेको प्रहरीको भनाइ छ। उनका सबै कागजपत्रमा उनको आफ्नो र उनको पिताको वास्तविक नाम रहेको थियो जसले गर्दा उनी समातिए।
उनी कसरी समातिए ?
हरियाणाले सङ्गठित अपराध, लागुऔषध, आतकङ्वाद र अन्तरप्रदेश अपराधसँग जोडिएका विषयमा छानबिन गर्न एउटा विशेष टास्क फोर्स गठन गरेको सन् २०२० मा १ वर्ष पुगेको थियो। त्यही बेला उनको फाइल खोलियो।
उक्त टास्क फोर्सले उनलाई 'सर्वाधिक खोजिएका व्यक्ति' को सूचीमा राख्यो र उनलाई पक्राउ गर्नका लागि सूचना दिने व्यक्तिलाई भारू २५ हजार इनाम दिने घोषणा गर्यो।
२ महिनापछि प्रहरी नारइना गाउँ पुगेको थियो र उनीहरूले '५० देखि ६० को दशकमा हिँडिरहेका व्यक्तिहरूलाई ओम प्रकाश बारेका उनीहरूका केही सम्झनाबारेमा' सोधेका थियो। त्यहीँबाट उनीहरूले पहिलो सुराक पाए, ओमप्रकाशले उक्त गाउँ २ दशक पहिले भ्रमण गरेका थिए र उनी उत्तर प्रदेशमा कतै बसिरहेका हुन सक्छन्।
दोस्रो भ्रमणमा उनीहरूले ओम प्रकाशको नाममा दर्ता फोन नम्बर फेला पारे र अन्तत: उनको ठेगाना पत्ता लगाउन सके। प्रहरीले हप्ता दिनसम्म उक्त क्षेत्रलाई निगरानी गरेर उनको घर पत्ता लगाएको थियो। आफूसँग ३० वर्ष पुरानो फोटो रहेको र अहिले उनी अर्कै देखिने भएकाले उनलाई पहिचान गर्न धेरै सङ्घर्ष गर्नुपरेको उनीहरू बताउँछन्।
'हामी सही मानिस पक्राउ भएको सुनिश्चित गर्न चाहन्थ्यौँ।' त्यति लामो समयसम्म फरार रहेका व्यक्तिलाई यसरी पक्राउ गर्नुलाई स्पेशल टास्क फोर्सको सफलताका रूपमा हेरिएको छ।
सांभार:बीबीसी