काठमाडौं, भदौ १२ । आगामी असोज १ गते शनिबारका दिन यमबुद्ध फाउन्डेसनको आयोजनामा चर्चित र्याप ब्याटल तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (र्याली)” कार्यक्रम हुने भएको छ ।
यमबुद्ध फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराएको हो । फाउन्डेसनका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले शान्ति दौड कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह सहित खेलकुद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको समेत सहभागिता रहने जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चाहना देशमा शान्ति होस्, प्रगति होस् भन्ने नै हो । यमबुद्धले समाजमा गरेका योगदानहरुलाई आम युवापुस्ता र सबैमा चिनाउन यस किसिमको कार्यक्रम गरेका हौं । फाउन्डेसनले आगामी दिनहरूमा सामाजिक सेवाका कार्यहरूलाई तीव्रता दिनेछ ।”
कार्यक्रमको सुरुवात नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट सुरु भई त्यहीँ नै समापन हुनेछ । कार्यक्रममा काठमाडौंका मेयर शाहको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा सहभागी हुन फाउन्डेसनले सबैमा अपिल गरेको छ ।