Kath khabar
उपत्यकामा डेंगुको प्रकोप, 'उपचारका क्रममा १ युवकको मृत्युु'

             काठमाडौं, भदौ १४ ।  काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा १ जनाको मृत्यु समेत भएको छ ।

त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको छ । टेकुमा ४ जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार ३५ वर्षीय १ युवकको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।७० जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षमा भन्दा यसपालि डेंगुको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार डेंगुको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ ।

एडिस जातको लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि बढी सक्रिय हुन्छ । त्यसैले यो समयमा बढी सचेत हुनुपर्छ । ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिना साथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update