Kath khabar
शास्त्रीय मान्यता अनुरुप आज गणेशको जन्मदिन

             

               काठमाडौं, भदौ १५ । भाद्र शुक्ल चतुर्थीका दिन आज गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदैछ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

भाद्रपद शुक्ल चतुर्थीको दिन माता पार्वती स्नान गर्न जाँदै हुनुहुन्थ्यो । त्यसपछि उनले आफ्नो फोहोरबाट एउटा बालकको मूर्ति बनाएर त्यसमा आफ्नो प्राण राख्नुभयो। र त्यस बालकको नाम गणेश राखियो । यसरी गणेश जीको जन्म भएको मान्यता छ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । मङ्गल चतुर्थी समेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछन्। तिथिको घटबढका कारण चथा पर्व मङ्गलबार नै रहेको समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख गरिएको छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवस पनि मनाउने गरिन्छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update