काठमाडौं, भदौ १६ । राइडिङ एण्ड सेयरिङ कम्पनीमा आवद्ध मोटरसाइकल चालक लगायत युवाहरुले मोवाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ ।
यो नियम देशभरका मोटरसाइकल तथा स्कुटर चालकहरुमा लागु गर्न लागिएको हो । सवारीसाधनमा यसरी स्ट्याण्ड राख्दा साधन मोडिफाइ हुने कानुन आकर्षित हुने भन्दै त्यसलाई नियन्त्रण गर्न लागिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटना समेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवाना गर्ने ब्यवस्था यातायात कानुनमा रहेको छ ।
ट्राफिक प्रहरीले अहिले चालकलाई सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको भएपनि चाँडै सिधै कारबाहीको अभियान चलाउन लागिएको ट्राफिक प्रहरी प्रबक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले यातायात कार्यालयलाई न्यूनतम ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।