Kath khabar
पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात



            काठमाडौं, भदौ १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गर्नुभएको छ ।

सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । ’पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल-ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीयस्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरूसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान संचालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रर्वद्धनमा सघाउ पुर्याउने उहाँले बताउनुभयो । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो । देशका अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरूमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update