Kath khabar
सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

              काठमाडौँ, भदौ १८। ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आउनुभएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाउनुभएको हो ।

ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नुभएको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालय मार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । “तपाईँको अभियानमा मन्त्रालय सहित अन्य माध्यम मार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ”, मन्त्री यादवले भन्नुभयो, “वृक्षरोपणको कार्य भदौ महिना भित्रै सुरुआत गरिने छ ।”

उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उहाँले बताउनुभयो । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनु भएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो । सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गर्नुभएको थियो । मन्त्री यादवले भन्नुभयो, “सदगुरुले गर्नुभएको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईँले गरिरहनु भएको छ, योभन्दा अरु खुसीको कुरा के होला ?”
 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update