
काठमाडौं, भदौ १९ । विश्वमा माटोको संकटलाई सम्बोधन गर्न सद्गुरुले मार्चमा शुरु गर्नुभएको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई सहयोग गर्न नेपाल सशक्त रूपमा अग्रसर भएको छ । ललितपुरस्थित गोदावरी सनराइज सम्मलेन केन्द्रमा सम्पन्न “माटो जोगाऔँ” कार्यक्रममा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन गर्दै माटो जोगाऔँ अभियानको नेतृत्व गरिरहनु भएका इशा फाउण्डेशनका संस्थापक सद्गुरुलाई एकताको ज्ञापनपत्र प्रदान गर्नुभयो ।
नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । सद्गुरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्नुभयो, अनि उहाँले माटो जोगाऔँ अभियानलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सद्गुरुले कुराकानीको बारेमा ट्वीट गर्दै भन्नुभएको छ, माननीय प्रधानमन्त्री शेर बहादुर देउबा तथा गठबन्धनका नेताहरूसँग भेट्न र अन्तरक्रिया गर्न पाउनु खुसी र सौभाग्यको कुरा हो । माटो जोगाऊँ अभियानप्रति तपाईंको प्रतिबद्धताले यस अद्भुत भूमिमा रहेका कोमल जनताको भविष्यलाई आकार दिनुपर्छ । कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई माटो जोगाऔँ सम्बन्धी नीति–प्रारूपको पुस्तिका हस्तान्तरण गर्नुभयो ।
उक्त पुस्तिकाले व्यावहारिक, वैज्ञानिक समाधानहरू प्रदान गर्दछ जसलाई सरकारले माटोको प्रकार, अक्षांश, स्थानहरू र सम्बन्धित राष्ट्रको कृषि परम्पराको आधारमा कार्यान्वयन गर्न सक्छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन जनाउँदै सद्गुरुको ३०,००० किलोमिटरको माटो जोगाऔँ यात्राको सम्झनामा नेपाल सरकारले यो साता ३० हजार रुखहरू रोप्ने घोषणा गर्नुभयो । माटोको विनाश रोक्नको लागि तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जोगाउन र राजनीतिक सहमति निर्माण गर्नको लागि विश्वभरि यात्रा गर्नुभएकोमा सद्गुरुको प्रशंसा गर्दै उहाँले उद्घोष गर्नुभयो; तपाईंको अभियानलाई अगाडि बढाउन मन्त्रालय हरपल तयार छ । तपाईंले गर्नुभएका राम्रा कामहरूमा हाम्रो ऐक्यबद्धता छ ।” सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले भन्नुभयो, “नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कन्सियस प्लानेट (जागरूक धरती) अन्तर्गत थालनी गरिएको माटो जोगाऔँ अभियानलाई हार्दिक स्वागत गर्दछ र त्यसमा अघि बढ्ने आशय र प्रतिवद्धता व्यक्त गर्दछ...कृषि तथा पशुपंक्षी विकास मन्त्रालय स्वतःस्फूर्त रूपमा नयाँ नीतिहरू बनाउन, विद्यमान नीतिहरूलाई बलियो बनाउन साथै लगानी र कार्यक्रमहरू कार्यान्वयन गरी सक्रिय रूपमा हिमालयको यस भूमिमा माटो जोगाउन प्रतिबद्ध छ ।
यस विषयलाई सम्बोधन गर्ने क्रममा सद्गुरुले भन्नुभयो, आज पनि लगभग ८५ प्रतिशत राष्ट्रहरूले माटोलाई कुनै वस्तुको रूपमा हेर्छन्, र त्यसलाई कुनै रसायनहरू थपेर वा हटाएर ठीक पार्न सकिन्छ भन्ने ठान्छन् । चाहे तपाईंलाई यो मन परोस् वा मन नपरोस्, जानी-नजानी हामी सबै यस विनाशको हिस्सा भएका छौँ । यसको एउटै उपाय भनेको हामी सबै समाधानको हिस्सा बन्नुपर्छ, अर्को कुनै उपाय नै छैन ।” सद्गुरुले माटो विनाशको विपत्तिलाई सम्बोधन गर्न सबैजना एकजुट हुन आह्वान गर्नुभयो । लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले सबैलाई माटो जोगाउनको लागि दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गर्नुभयो । “कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरू अघि बढेर आफ्नो देशको दीर्घकालीन हितका लागि आवाज उठाउने समय भएको छ‘ यदि सरकारहरूले राष्ट्रको दीर्घकालीन हितमा लगानी गर्नुपर्ने हो भने, तपाईंको आवाज बुलन्द हुनु निकै महत्त्वपूर्ण छ । तपाईंको जिम्मेवारी भोट मात्र होइन, तपाईंको जिम्मेवारी तपाईंको आवाज समेत हो ।” –सद्गुरुले भन्नुभयो ।
सामाजिक सञ्जालको अद्भुत शक्तिलाई सदुपयोग गर्न सबैलाई प्रेरित गर्दै उहाँले भन्नुभयो, “आज सौभाग्यवश प्रविधि र सामाजिक सञ्जालका कारण तपाईं घरमै बसेर आवाज उठाउन सक्नुहुन्छ‘ यदि तपाई साँच्चिकै प्रतिबद्ध हुनुहुन्छ भने आफ्नो घरमै बसेर तपाईं एकजना मात्रपनि पूरै संसारमा पुग्न सक्नुहुन्छ । नेपालको ६० प्रतिशत माटोमा कम जैविक पदार्थ रहेको र ६७ प्रतिशत माटो अम्लीय रहेको तथ्याङ्क छ । नेपालका धेरै भागहरूमा माटोमा जैविक पदार्थको मात्रा दुई प्रतिशत भन्दा कम छ, अनि केही क्षेत्रहरूमा यो एक प्रतिशत भन्दा कम छ, विशेषगरी तराई भूभागको खेती गरिएको माटोमा । नेपाल सरकारको २० वर्षिय दीर्घकालीन उद्देश्य कृषि विकास रणनीति (ए.डी.एस) ले सन् २०३५ सम्ममा माटोको जैविक पदार्थलाई हालको एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशत पुरÞ्याउने लक्ष्य राखेको छ ।
मरिरहेको माटोलाई जोगाउनको लागि विश्वको ध्यान आकर्षण गर्न सद्गुरुले यस वर्ष मार्चमा विश्वव्यापी माटो जोगाऔँ अभियान शुरु गर्नुभएको थियो । अभियानले राष्ट्रहरूलाई नीतिगत पहलहरूमार्फत विश्वभरिको कृषियोग्य माटोमा तीन देखि छ प्रतिशतसम्म जैविक पदार्थ कायम गर्न आग्रह गरिरहेको छ । माटोलाई उर्वर र उब्जाउयोग्य राख्न र यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि तीन देखि छ प्रतिशतसम्म न्यूनतम आवश्यक जैविक पदार्थ हो । कन्सियस प्लानेट (जागरूक धरती) र नेपाल सरकारबिच भएको समझदारीले यस देशको माटोको स्वास्थ्य सुधार गर्नको लागि नीति निर्माण गर्न प्रतिबद्धताको रूपमा काम गर्नेछ । इकोनोमिक्स एण्ड ल्याण्ड डिग्रेडेसन (भ्ीम्) इनिसिएटिभ २०१५ अनुसार, हाम्रो पृथ्वीको ५२ प्रतिशत कृषियोग्य माटो नष्ट भइसकेको छ र उब्जनीको लागि अयोग्य भएको छ ।
खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) ले जलवायु परिवर्तन र माटो लोपका कारण सन् २०५० सम्ममा कतिपय क्षेत्रमा बाली उत्पादनमा ५० प्रतिशतसम्म गिरावट आउने अनुमान गरेको छ । यस भयावह सङ्कटलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बुझेर सद्गुरुले गत मार्चमा यूरोप, मध्य एशिया, मध्यपूर्वी राष्ट्रहरूसहित २७ राष्ट्रहरू हुँदै एक सय दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गर्नुभएको थियो ।
विश्वभरि माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले संकल्प गरिसकेका छन् भने भारतका नौं राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् । कमन वेल्थका ५४ वटै राष्ट्रहरूले माटो सम्बन्धी नीति लागू गर्ने उद्घोष गरेका छन्, जसअन्तर्गत नौं राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरण सम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय संगठनहरू जस्तै कि आ.यू.सि.एन, संयुक्त राष्ट्र संघका संस्थाहरू यू.एन.सि.सि.डी, डब्ल्यू.एफ.पी. तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।