इस्लामाबाद, भदौ १९ । पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै १,३०० जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका ३ करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
सङ्घीय योजना मन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले ३ करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबार विहीन हुनेको सङ्ख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको हो । “पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको योे घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,” पत्रकार सम्मेलनमा उहाले आह्वान गर्दै भन्नुभयो । सरकारको प्रारम्भिक अनुमान अनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ ।
संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेस लगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन् महासचिव गुटरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थिति बारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै हुनुहुन्छ ।
पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ । जुनको मध्य देखि सुरु भए देखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर ४ सय ४१ बालबालिका सहित १,२६५ जनाको मृत्यु भइसकेको छ । यसअघि प्रधानमन्त्री शाहबाज शरीफले पनि सहायताका निम्ति गर्नुभएको आह्वानको तत्काल जवाफ प्राप्त भएको थियो । फलस्स्व्रुप विभिन्न देशले राहत सामग्री इस्लामावाद ल्याएका थिए ।