काठमाडौं, भदौ १९ । तामाङ भाषामा विवाहलाई ब्रेलवो अथवा ब्रेलसाङ भनिन्छ। हिन्दुहरुको बिहेको मुख्य विधि भनेको सिन्दूर हाल्नु हो । तर तामाङहरुमा सिन्दूर हाल्ने चलन छैन । तामाङहरुको बिहेको मुख्य विधिलाई चारदाम भनिन्छ । हिन्दुको सिन्दूर नहालेसम्म विवाह सम्पन्न नभएजस्तै तामाङहरुको चारदाम नगरेसम्म विवाह सम्पन्र भएको मानिदैन ।
चारदाम के हो भन्ने प्रश्नमा धेरैको फरक फरक मत रहेको पाईन्छ । कसैले यसलाई साई ब्लिला ताम भन्छन्, कसैले सगुन छ्योत् ताम भन्छन् र कसैकसैले यसलाई कन्यादान पनि भन्छन् थर यो गलत हो किनभने तामाङहरूको बिहेमा कन्यादान हुदैन । 'चरताम' भन्ने शब्दबाट 'चारदाम' हुन गएको भनाइ छ । "चर" भनेको ह्रुई/हाड "ताम" भनेको कुरा अर्थात ह्रुई/हाडको कुरा गर्ने भएकोले चरतामबाट चारदाम हुन गएको समाजशास्त्री डा मुक्त सिं थोकरको अध्ययनको निष्कर्ष रहेको छ । चारदाम भनेको कुटुम्ब अर्थात बेहुला र माइती बिचको बाचा वा सम्झौता हो ।
चारदाम गर्दा बेहुला बेहुली दुबैतिरको ताम्बा गान्बा राखेर चारै दिशाको देवता, आकाश पातालको ला लु, अनि हिमालको डाँफे चरी मधेशको माछा सहितलाई साक्षी राखेर बेहुली पक्षको ताम्बाले आजबाट रगत मासु प्राण वायु सुम्पियौ तर एउटा चिज चाही हामी दिदैनौ त्यो हो 'ह्रुईबाला चरी' अर्थात हाड । यो हाड/ह्रुईबाला चरी चाही माइतीकै जिम्मामा रहन्छ भनेर वाचा गर्दछन् ।
चारदाममा यदि तामाङकी छोरी चेलीको मृत्यु भएमा माइतीको उपस्थिति बिना लास जलाउन पाइदैन भनेर सम्झौता गरिन्छ । यसमा मुख्य बुझ्नुपर्ने कुरा भनेको हाड/ह्रुईबाला चरी भनेको थर हो । थर चाही माइतीकै रहन्छ जस्तै जिम्बा र लोप्चनस्याको बिच बिबाह भएमा लोप्चनस्या जिम्बा हुँदैन उसको थर लोप्चन नै रहन्छ । चारदाम भनेकै यि दुई कुरा चेलीको थर परिवर्तन नहुने र मृत्यु हुँदा अनिवार्य माइतीको उपस्थिति चाहिन्छ भन्नु हो ।
-Sagar Tamang