Kath Khabar
इमेज च्यानलमा पत्रकार महासंघको धर्ना



           काठमाडौं, भदौ १९ । नेपाल पत्रकार महासंघले आइतबार लाजिम्पाटस्थित इमेज टेलिभिजनको कार्यालय परिसरमा एक घण्टा धर्ना दिएको छ ।

कोभिडकालमा निष्कासन गरेका श्रमजीवीहरुको पारिश्रमिक अझै उपलब्ध नगराएको, २०७६ देखि चाडवाडका पैसा उपलब्ध नगराएको, कल्याणकारी कोषमा पत्रकारको पारिश्रमिक काटिने तर व्यवस्थापन पक्षले पारिश्रमिक नहालेको र नियमित पारिश्रमिक नदिइएको, न्यूनतम पारिश्रमिक समेत सबै पत्रकारहरूलाई नदिएको विषयमा पत्रकार महासंघले इमेज टेलिभिजनमा आइतबार सांकेतिक रुपमा एक घण्टा धर्ना दिएको हो ।

नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाले व्यवस्थापनसँग केही समय अगाडि मागपत्र प्रस्तुत गर्दा र महासंघ केन्द्रले पनि इमेजमा देखिएका श्रम सम्बन्धी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा समेत व्यवस्थापन पक्षबाट बेवास्ता भएपछि महासंघले आइतबार धर्ना कार्यक्रम राखेको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको पारिश्रमिक सम्बन्धमा कसैमाथि अन्याय भए महासंघले सुरु गरेको  आन्दोलनमा जोडिन आग्रह गर्नुभएको थियो ।

‘पीडित पत्रकारले न्याय नपाउँदासम्म महासंघ पत्रकारको पक्षमा लडिरहन्छ । आन्दोलन बिचमा छोडेर सम्झौता गर्दैन,’ बरिष्ठ उपाध्यक्ष विष्टले भन्नुभयो । उहाँले पारिश्रमिकको विषयमा आवज उठाउने पत्रकारलाई व्यवस्थापन पक्षबाट हुनसक्ने नकारात्मक व्यवहारबाट नडराउन पनि आग्रह गर्नुभयो । महासंघका महासचिव रोशन पुरीले राज्यबाट सेवा सुविधा लिने तर पत्रकार तथा श्रमिकको सेवा सुविधा नदिने सञ्चारमाध्यमको खुलेर विरोध गर्ने बताउनुभयो ।

सञ्चारक्षेत्रको विकासका लागि केही सञ्चारमाध्यमले सरकारबाट सहुलियतपूर्ण ऋण लिएर अन्य क्षेत्रमा लगानी गरेको भन्दै महासचिव पुरीले त्यसको हिसाबकिताब खोजिने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने सञ्चारगृहका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ, इमेज च्यानल प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले पत्रकारको श्रम समस्या समाधान गर्न पटकपटक आग्रह गर्दा समेत व्यवस्थापन पक्षले बेवास्ता गरेका कारण धर्ना दिन बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु लगायत ईमेज च्यानलमा कार्यरत पत्रकार र अन्य सञ्चारमाध्यममा काम गर्ने पत्रकारको सहभागिता रहेको थियो ।


 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update