सिचुवान, भदौ २१ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा १ सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय समय अनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
भूकम्पले सञ्चार सम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ ।