Kath khabar
चर्चित युटुयुबर डेल फिलिपको नेपाल यात्रा - नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग
📷डेल फिलिपको फेसबुक पेजबाट


          काठमाडौं, भदौ २१ । डेल फिलिप उर्फ डलेरोक्सु (Daleroxxu) एक स्कटिश युट्युब कन्टेन क्रिएटर हुन् । उनी युट्युब सामग्री निर्माता, ट्राभल ब्लगर, सोसल मिडिया सेलिब्रेटी तथा एक प्रो पोकरस्टार खेलाडीका रुपमा परिचित छन् । स्कटल्याण्डको एडिनबर्गमा जन्मिएका २७ वर्षीय डेल पशु प्रेमी हुन् ।

डेलले धेरै देशहरूमा यात्रा गरिसकेका छन् र आफ्नो यात्रालाई निरन्तरता दिइरहेका पनि छन् । उनी लोकप्रिय पर्यटक स्थलहरू अन्वेषण गर्न विभिन्न देशको यात्रा गर्छन् र आफ्नो अनुभव सेयर गर्दै ब्लग सामाजिक सञ्जालहरूमा अपलोड गर्छन् । उनका भिडियोहरूले विश्वभरबाट ठूलो सङ्ख्यामा फ्यानहरू कमाएका छन् ।  

५.२ लाख फेसबुक फलोअर्स भएका डेलको युट्युब च्यानलमा १.१९ लाख सदस्यहरू छन्, र इन्स्टाग्राममा १२४ हजारभन्दा बढी फलोअर्स छन् । ब्लगर बन्नु अघि, डेल एक स्टार पोकर खेलाडी थिए। उनले धेरै अनलाइन पोकर प्रतियोगिताहरू जितेका छन् ।

डेल फिलिपले 'Weekend In Copenhagen' शीर्षकको भिडियोबाट युट्युबमा डेब्यु गरेका हुन् । युट्युबमा उनको सबैभन्दा धेरै हेरिएको भिडियोको शीर्षक 'Avoid this horse ride SCAM in Karachi, Pakistan' हो र यसलाई ७ लाखभन्दा बढीले हेरेका छन् । डेलले आफ्नो व्यक्तिगत जीवनको बारेमा अहिलेसम्म केही खुलाएका छैनन् । इन्टरनेटमा उपलब्ध डाटा अनुसार उनी अहिलेसम्म एकल छन् ।

युट्युबर डेल फिलिप केही समयअघि नेपालको मार्दीमा हेलिकप्टर यात्राको मजा लिदै हिमालय तथा विभिन्न पहाड तथा गाउँहरूका सुन्दर दृश्यको वर्णन गर्दै देखिएका छन् । उनले नेपालमा मेरो अन्तिम दिन भनेर ३ हप्ता अगाडि पनि भिडियो राखेका छन् । उनी त्यसदिन काठमाडौंका विभिन्न स्थानहरू घुमेका छन् नेपाली गाइडसँग । उनले भनेका छन् "म गर्वका साथ मेरो नयाँ नेपाली टोपी लगाएर दरबार स्क्वायर घुमेर कुमारीको घर गए ।" उनले त्यसदिन कुमारी हेर्न कुमारी घर पुगेको देखाउँदै कुमारीको बारेमा छोटो वर्णन गरेका छन् । डेलले नेपालसँगै दुबई, भारत तथा पाकिस्तानका विभिन्न पर्यटकिय स्थलहरु पुगेर भिडियो बनाएका छन् ।

उनका भिडियोहरूमा नेपाली खानाहरूको स्वादमा रमाएको पनि देख्न सकिन्छ । उनका भिडियोहरुले नेपालको विभिन्न संस्कृति, परम्परा, भाषा, खाना  तथा नेपाली जीवनशैली देखाएको छ, जुन नेपालको पर्यटन प्रवर्द्धन गर्ने स्रोत हुन् । आकर्षक रुपमा प्रचारप्रसार गरिएका ति भिडियोहरुले नेपालको पर्यटनको लागि योगदान पुर्याउन सक्छ ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update