
काठमाडौं, भदौ २१ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्ष माथिको छलफलमा सांसद तुलसा कुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्य अनुरुप विधेयक ल्याइएको बताउनुभयो । उक्त विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा छलफल भई सर्वसम्मत रुपमा पारित हुँदै प्रतिनिधि सभाबाट पनि पारित भएको र यसलाई बढी व्यावहारिक र समय सान्दर्भिक बनाउन सरकार सकारात्मक रहेको उहाँले जानकारी दिनुभयोे ।
हालको बीमा ऐनले बीमाका सबै विषय नसमेटेकाले विधेयकको अपरिहार्यता महसुस गरी सबै सरोकारवालासँगको छलफल पछि यसलाई अघि बढाइएको र प्राप्त सुझावलाई समेत समेटेर विधेयक अघि बढाइने मन्त्री शर्माले विश्वास दिलाउनुभयो । बीमा मार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने उहाँको भनाइ थियो ।