काठमाडौं, भदौ २१। दक्षिण कोरियाको बुसान इन्टरनेसनल फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फेस्टिभल, चेक रिपब्लिकको जलिन फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फेस्टिभलमा छनोट भइसकेको 'ऐना झ्यालको पुतली' यहि भदौ २४ मा रिलिज हुँदैछ ।
सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथा तयार गरिएको छ । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर, जति प्रयास गरे पनि निस्कन सक्दैन । फिल्ममा मुख्य पात्रको अवस्थालाई पनि यसरी नै देखाईएको छ ।
‘ऐना झ्यालको पुतली’ नेपाली गाउँमा हुर्किएकी १३ वर्षीया बहिनी विद्या र कान्छो भाइ वसन्त अधिकारीको बहिनी र भाइको कोमल कथा हो । जसमा भाइले आफ्नी बहिनीलाई अगाडि पढ्ने सपना पूरा गर्न संघर्ष गरिरहेको देखिन्छ। यो फिल्मले हुर्किँदै गरेको बालबालिकाको निर्दोषता जगाउने र पितृसत्ताले महिलाको सपनालाई कसरी दबाउँछ भन्ने कुरालाई राम्ररी देखाएको छ। आत्मकथात्मक तत्वसहितको यो नेपाली समाज र यसले आज पनि महिलालाई कसरी दमन गर्छ भन्ने नारीवादी भावना बोकेको चलचित्र हो ।
फिल्ममा एकअर्कासँग झगडा भए पनि एकअर्कालाई निःशर्त माया गर्ने दुई दाजुभाइ र छोरीलाई पढाइका लागि राम्रो ठाउँमा पठाउन कडा मेहनत गर्ने आमाको कथालाई निर्देशक बिडारीले प्रस्तुत गरेका छन् । चलचित्रले दशकअघिको दुर्गम गाउँको समाजलाई पनि चित्रण गरेको छ । यो चलचित्रमा धेरै पुराना कुराहरू छन् । फिल्ममा रेडियो नेपालको शङ्ख धुन (जुन धुनले हरेक घरपरिवारको दिन सुरु हुन्थ्यो) ले पुराना दिनहरु एकपटक याद गराउँछ ।
चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश पाक, अशोक शिवाकोटी, बिश चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, राज थापा, पदमप्रसाद पौडेल आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकारहरु नयाँ हुन् । सह-निर्मातामा सुशान्त श्रेष्ठसँगै आकाश पौडेल, प्रविण स्याङ्बो, सुजित बिडारी र रामकृष्ण पोखरेल छन् । भाद्र २४ बाट देशैभरी प्रदर्शन हुदैछ ।