Kath khabar
फर्निचर तथा फर्निसिङ एक्स्पोको सबै तयारी सकियो, चाडपर्व लक्षित अफर चल्ने



           काठमाडौं, भदौ २२ । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजना ५ दिनसम्म चल्ने एक्स्पोको भौतिक तयारी समेत पुरा गरिएको हो । भदौ २३ गते बिहीबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गर्नेछन् । बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पोस्थल भने खुल्ला गरिने इभेन्ट सोलुसनले जनाएको छ ।

एक्स्पोका संयोजक ओम बस्नेतका अनुसार सबै प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी विभिन्न किसिमका अफरमा अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लायन्स लगायतका सेवा तथा उत्पादन उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए ।

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेन्ट सोलुसनले जनाएको छ । तर, अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ ।

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । “किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लायन्स, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् ।

५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामाग्रीहरुको बृहत् मेला “फर्नेक्स नेपाल” को आयोजना गर्दै आएको छ ।


 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update