काठमाडौं, जेठ १४ । सुटिङकी कल्पना परियारले आगामी जुलाइमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने हुनुभएको छ ।
उहाँले शुक्रबार वाइल्ड कार्ड पाउनुभएको नेपाल ओलम्पिक कमिटी एनओसीले बताएको छ । कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
अन्य खेलाडीका लागि पनि प्रयास भइरहेको कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बताउनु भएको छ । ओलम्पिक वाइल्ड कार्डका लागि सात खेलका १२ खेलाडी नाम सिफारिस गरिएको थियो । यसअघि पौडीकी गौरिका सिंह, एलेक्स शाह तथा एथलेटिक्सका गोपी चन्द पार्कीले ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्ने पक्का भइसकेको छ ।
ओलम्पिक कमिटीले सात खेलका १२ खेलाडीको नाम ओलम्पिक वाइल्ड कार्ड सिफारिसका लागि पठाएको थियो । टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ ।