काठमाडौं, भदौ २३ । नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्यानसँगको सम्पर्कमा आएका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग कानुनी सहयोग मागेका छन्।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज जमैकामा रहेका सन्दीपसँग क्यानले सम्पर्क गरेको हो । लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै क्यानसँग कानुनी सहयोग मागेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिनुभएको छ । लामिछानेले म्याच सकिएपछि आफै नेपाल फर्किने बताएको पनि मल्लले जानकारी दिनुभएको छ ।
क्यानका सचिव मल्लले नेतृत्वमा पुगेको व्यक्तिले कुनै युवतीलाई होटलभित्र लगेको कुरा मात्रै पनि ठूलो अपराध भएको बताउदै यदि यो घटना प्रमाणित भएको खण्डमा क्यानले पनि सोही अनुरुप कारबाहि गर्ने बताउनुभएको छ ।
प्रहरीले भने होटलमा भएको सीसी क्यामेरा फुटेज लगायत होटल सञ्चालक तथा कर्मचारीसँग सोधपुछ लगायतका काम गरिसकेको जनाएको छ । दुईबीच सामाजिक सञ्जाल स्न्याप र इन्स्टाग्राममा पनि कुराकानी भएकोले संकलन गर्न प्रहरी जुटेको छ ।
घटनापछि लामिछानेले आफ्नो स्न्यापच्याट लगायत इन्स्टाग्राममा पनि बालिकालाई ब्लक गरेको र बालिकाले कुरा गर्न चाहदा लामिछाने सम्पर्कमा नआएपछि मात्र आफू उनीबाट प्रयोग भएको महसुस भएपछि बालिकाले आफ्नो साथीसँग घटना सेयर गरेको अनी प्रहरीमा उजुरी दिने पुगेको कुरा जाहेरीमा उल्लेख छ । भदौ ५ गते राति काठमाडौंको एक होटलको ३०५ नम्बरको कोठामा लगेर लामिछानेले आफूमाथि पटक पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ ।
कप्तान सन्दीप लामिछाने राष्ट्रिय स्तरका मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत स्टार खेलाडीको छबि बनाएका चर्चित क्रिकेटर हुन् ।