सारजाह, भदौ २३ । बुधबार भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो। यो स्कोर ठूलो थिएन तर पाकिस्तानी टोलीले यसलाई पछ्याउन निकै संघर्ष गर्नुपरेको थियो । १८ औं ओभरसम्म पाकिस्तानको जितको बाटो कठिन थियो। १९ औं ओभरको चौथो बलमा पाकिस्तानी खेलाडी आसिफ अलीले फरीद अहमदको बलिङमा उत्कृष्ट छक्का प्रहार गरे। जसका कारण पाकिस्तानको जितको आधार भएको थियो।
तर अर्को बलमा उनी आउट भए र पाकिस्तानी टोलीमाथि हारको दबाब बढ्यो। प्याभिलियन फर्कनु अघि फरीद र आसिफबीच भनाभन भयो। पहिले फरीदले केहि भने जसमा आसिफ अली रिसाए। कुरा यति बढ्यो कि आसिफ अलीले पहिलो पटक फरीदमाथि हात उठाएको देखियो र त्यसपछि उनले ब्याट पनि उठाए।
तर, यस क्रममा फरीद पनि पछि हटेनन् र उनले आसिफ अलीलाई आँखा जुधाउन थाले। त्यसपछि मैदानमा उपस्थित अफगानिस्तानका खेलाडीले हस्तक्षेप गरेपछि आसिफ अली फर्किए। खेलपछिको पत्रकार सम्मेलनमा जब पाकिस्तानी खेलाडी शादाब खानलाई घटनाको बारेमा सोधियो, उनले यस्ता कुरा मैदानमै समाप्त हुने प्रतिक्रिया दिए।
पाकिस्तानले अन्तिम १२ बलमा जितका लागि २१ रन जोड्नु परेको थियो। अफगानिस्तानका लागि फरीदले १९ औं ओभर बलिङ गरेका थिए। फरीदले दोस्रो बलमा हरिस रउफलाई शून्य रनमा आउट गरे। योसँगै पाकिस्तानको ८ विकेट गयो। यसअघि खुशदिल शाहलाई अन्तिम ओभरको अन्तिम बलमा फजलुल्लाह फारुकीले बोल्ड गरेका थिए। पाकिस्तानका लागि तीव्र गतिमा ब्याटिङ गरिरहेका आसिफ अलीले १९ औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै अफगानिस्तानलाई दबाबमा राखेपनि अर्को बलमा फरीदले उनलाई क्याच आउट गराए ।
अन्तिम ७ बलमा पाकिस्तानले जितका लागि १२ रन बनाउनु परेको थियो र पाकिस्तानसँग १ विकेट मात्र बाँकी थियो। यस्तोमा आसिफ अली ८ बलमा १६ रन बनाएर आउट भए । अफगानिस्तानका लागि अन्तिम ओभर फजलुल्लाह फारुकीले बलिङ गरे। पाकिस्तानले ६ बलमा ११ रन बनाउनु परेको थियो र १ विकेट मात्र बाँकी थियो । नसिम शाहले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे। फजलुल्लाह फारुकीले योर्कर प्रहार गर्ने क्रममा फुल टस फ्याँकेपछि खेल नसिमलाई सजिलो भएको थियो।