काठमाडौं, भदौ २३ । बुधबार राति एप्पलले आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ ।
हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यो वर्ष पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गरेको हो । टिम कुकले एप्पल इभेन्ट कि मार्फत आइफोन १४ लन्च गरेका हुन् ।
यो सिरिजमा ग्राहकले धेरै मन पराउने बलियो फिचरहरू समावेश गरिएको छ, कार्यक्रमको क्रममा एप्पलले एप्पल वाच सिरिज ८, एप्पल एयरपड्स प्रो २ र एप्पल वाच अल्ट्रा पनि लन्च गरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा धमाकेदार सुविधाहरूसहित बजारमा आएका छन् ।
आइफोन १४ को डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । आइफोन १४ मा डुअल (दुई ओटा) १२ मेगापिक्सेलका क्यामेरा समावेश छन् । फ्रन्ट क्यामेरा पहिलेको भन्दा दुई गुणा राम्रो रहेको र अगाडिको क्यामेरामा अटोफोकस पनि उपलब्ध छ। आइफोन १४ को डिस्प्ले २००० निट्स छ । कम प्रकाशमा पहिलेको तुलनामा ४९ प्रतिशत राम्रो फोटो क्लिक हुनेछ । क्यामेराको डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन ।
आइफोन १४, आइफोन १४ प्लस मा ए१५ बायोनिक चिपसेटसँग जोडिएको छ । एप्पलले यस पटक आइफोन १४ श्रृंखलामा ५-कोर जिपियू ल्याएको छ । नयाँ आइफोनमा एचडीआर मोड पनि छ । आइफोन १४ सँग फाइभ जी कनेक्टिभिटी दिइएको छ। आइफोन १४, आइफोन १४ प्लस युएस मोडेलहरूमा कुनै सिम ट्रे छैन। यद्यपि यो अमेरिकी प्रयोगकर्ताहरूको लागि मात्र हो । यसमा डिजिटल इ-सिम कार्ड हुने कम्पनीले बताएको छ । अरू देशमा पठाइने मोडलमा भने के हुनेछ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिइसकेको छैन ।
मूल्यको कुरा गर्दा आइफोन १४ को मूल्य ७९९ डलर छ भने आइफोन १४ प्लसको मूल्य ८९९ डलर छ । दुबै मोडलहरू सेप्टेम्बर ९ देखि प्रि-अर्डर गर्न सक्नेछन् । आइफोन १४ सेप्टेम्बर १६ र आइफोन १४ प्लस अक्टोबर ७ देखि उपलब्ध हुनेछ । यो निलो, रातो, सेतो मिडनाइट, स्टारलाइट रङ्गमा उपलब्ध छ। त्यस्तै प्रो र प्रो मोडेलमा गोल्ड, ब्ल्याक, सिल्भर र बैजनी रङ्गमा उपलब्ध छ ।