काठमाडौं, भदौ २४ । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्य मान्यतामा आधारित विषयवस्तुहरू झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गर्नुभयो ।
ईन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरूले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गतेशनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङ मार्फत प्रतियोगीहरूको छनौट गरिने छ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफूले तयार गरेको भिडियो दया फाउन्डेसनको इमेल [email protected] मा पठाई सक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका निमित्त एकदमै ठुलो टेवा पुर्याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरिनुपर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशेष धन्यवाद व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउन्डेसनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चिनीकाजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरूम लगायत सो क्षेत्रका स्थानियको बाक्लो उपस्थिति थियो ।