काठमाडौं, भदौ २४ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरूलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने तयारी भइरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरू समावेश हुन सक्ने वातावरण बन्दै गएको बताउनुभएको हो ।
विविध कारणले विदेशी भूमिका रहेका नेपालीहरुबिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाइचारा कायम गर्न प्रयास भइरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताकालाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडि बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।