काठमाडौं, जेठ १४ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ४९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल, आइसोलेसन केन्द्रहरुलाई सहयोग स्वरुप ४९ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल, आइसोलेसन केन्द्र सात लाखका दरले जम्मा ४९ लाख रुपैयाँँ सहयोग गरेको हो । उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा बिभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड-१९ को संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरुबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलकदमीको हार्दिक सराहना गर्दै वहाँहरुसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरेको जानकारी दिएको छ ।