Kath khabar
घडेरीको लागि जग्गा छनोट कसरी गर्ने
घडेरीको जमिनको वास्तविक अवस्था


      काठमाडौं, भदौ २६ । वैदिक वास्तुशास्त्रमा घर तथा अन्य प्रयोजनको लागि घडेरी जग्गा छनोट गर्ने विशेष गरी त्यस सम्बन्धी विज्ञको रायसल्लाह विचार, विमर्श लिनु राम्रो मानिन्छ । जुनसुकै घडेरी पनि छनोट गर्नु पर्दा वास्तुविज्ञ र वास्तुसम्वन्धी ज्ञान भएको इन्जिनियरहरूको सल्लाह लिएर खरीद गर्नु राम्रो हुनेछ । घडेरी  छनोट गर्दा धेरै कुराहरूमा ध्यान दिनुपर्दछ ।

माटोको किसिम
१. घडेरीको माटो छुँदा नरम, कमेरो माटो चाख्दा स्वाद मिठो भएको ठाउँमा घर वा भवन बनाउने व्यक्ति सुख, शान्ति र समृद्धि हुने भएकोले यस्तो घडेरी  धेरै राम्रो मानिन्छ ।
२. घडेरीको माटो समात्दा अलि साह्रो, डल्ला, डल्ला परेको अलि चाम्रो हेर्दा धाँजा फाटेको  देखिएको जग्गाको घडेरी राम्रो मानिन्छ ।  
३. घडेरीको लागि माटो हेर्दा पहेँलो रङ्ग समात्दा कडापन भएको जग्गा घर बनाउनुको लागि भन्दा व्यापारको लागि  राम्रो मानिन्छ ।
४. घडेरीको लागि माटो हेर्दा कालो रङ्ग जसलाई इन्जिनियरिङ् शब्दमा  (Black cotton soil) भनिन्छ । यस्तो माटोको घरको लागि भन्दा व्यापारिक वा व्यावसायिक भवन बनाउँदा राम्रो हुन्छ ।

घडेरीको  लागि ठाउँ र वातावरण
घडेरीको  लागि जग्गा विशेष गरी समथर हुनु राम्रो हो । तर ढाल (स्लोप) परेको भए उत्तर र पूर्वतिर अथवा उत्तर पूर्वतिर हुन उत्तम मानिन्छ । घडेरीको छेउतिर पिपल आँप वा बाँसको बोटहरू हुनुहुँदैन । फूल तथा फल फल्ने रूख भएको जमिन घडेरीको लागि राम्रो हुन्छ । मन्दिर, स्कुल, आश्रम नजिक वा जोडिएर बनाउने घडेरी  राम्रो हुदैन । ठूलो वा सानो पहाडको दक्षिण वा पश्चिम तर्फको घडेरी घर बनाउन हुदैन । तर पहाडको उत्तर अथवा पूर्व पर्ने घडेरी वास्तुशास्त्र अनुसार राम्रो मानिन्छ ।

घडेरीको अवस्था र वास्तु
टुक्रा पारिएको घडेरीको आकार र कोण वास्तुशास्त्रमा बताएको नियमअनुसार हुनुपर्दछ । शहर बजारमा पनि वास्तुशास्त्रको नियमअनुसार घडेरी खरीद गर्नु पर्दछ । नत्र भने खरीद गरेको घडेरीले ठूलो नोक्सान गर्ने हुन्छ ।

घडेरीको आकार
घडेरीको विभिन्न किसिमको आकारमा विभाजन गरिएको हुन्छ । सस्तो र केही सुविधाको कारणबाट मानिसहरू लोभिएर वास्तुशास्त्रको नियम र सिद्धान्तलाई विर्सेर घडेरी खरीद गर्ने प्रचलन छ । तर कस्तो घडेरीको आकार भए राम्रो हुन्छ र कस्तो भए नराम्रो भन्ने कुरा मान्छेको मस्तिष्कमा सोचिँदैन । वास्तुशास्त्रको कुरा त अझ टाढाको विषय हो । त्यसकारण सबैलाई  ज्ञान होस् कि घडेरीको आकार, साइज र प्रकार छान्दा वमस्तुशस्त्रको नियम अनुसरण गर्नु पर्दछ । घर व्यापारिक भवन र अन्य भवनहरूको वास्तुशास्त्रको नियमहरूको एउटै मानिन्छ । वास्तु परुषको स्वभाव सबै ठाउँमा एकै हुन्छन् ।

१. घडेरीको आकार वर्गाकार
घडेरीको लम्बाइ र चौडाइ चारैवटा भाग बराबर भएको घडेरी  अति राम्रो मानिन्छ । यस घडेरीको चौडाई र लम्बाइको अनुपात १ः१ हुन्छ र सबै कोण ९० हुन्छ । यस्तो घडेरीमा घर बनाएर बस्ने घरवालालाई सुख, शान्ति र समृद्धि साथै शुभफल दिने हुन्छ  ।

२. घडेरीको आकार आयातकार
घडेरीको चौडाइ र चौडाइ बराबर साथै लम्बाइ र लम्बाइ बराबर भएको घडेरीमा घर बनाएर बस्ने घरवाला परिवारलाई सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । विशेष गरी यस्तो आयातकार घडेरी छनोट गरी खरीद गर्नु राम्रो हुन्छ । आयताकारको पनि चौडाइ र लम्बाइको अनुपात १ः२ भन्दा बढी हुनुहुँदैन ।

३. घडेरीको आकार गोलाकार
घडेरीको आकार गोलाकार भएको र यस्तो घडेरीमा घर बनाई बस्ने घरवालालाई धनसम्पत्ति, यशोवृद्धि दैनिक बढ्दै जानेछ ।

४. गौमुमी घडेरीको आकार
घडेरीको आकार गाईको जस्तो मुख भएको जसको अगाडिको भागको चौडा पछाडिको भागको चौडाभन्दा थोरै हुन्छ । यस्तो घडेरीको बाटो दक्षिण र पश्चिममा मात्र हुनुपर्दछ । उत्तर र पूर्वमा भए अशुभ हुन्छ ।

५. घडेरीको आकार विभिन्न हुन्छन् जस्तै : पेन्टागोन आकार, षष्टकोण आकार, अष्टकोण आकार, माछाको आकार, धनुषआकार, एल आकार अन्य विभिन्न किसिमको आकार  हुन्छन् । यस्ता आकारका घडेरीहरूमा घर बनाएर बस्दा धेरै दुःख, कष्ट, अनिष्ट, धन सम्पत्तिको हानि नोक्सान हुने भएकोले भरसक स्वाभिमानी मानिस र जान्ने बुझ्ने व्यक्तिहरूले यस्तो घडेरी  खरीद गर्नु हुदैन र घर बनाउनु पनि हुदैन ।  वास्तुशास्त्रको नियम वमोजिम सुधार गरी केहीहदसम्म प्रयोग गर्न भने सकिन्छ ।

६. घडेरीको कोणहरू (कुनाहरू) विशेषगरी घडेरीका  सबै कोणहरु ९०  डिग्री भए अति राम्रो मानिन्छ । दक्षिण-पश्चिमको कोण ९० डिग्रीभन्दा कम हुनु राम्रो हुन्छ, बढी हुनुहुँदैन । उत्तर-पश्चिमको कोण ९०  डिग्री भन्दा बढी हुनु राम्रो हुन्छ । तर १२०० डिग्री भन्दा  बढी हुनुहुँदैन । उत्तर-पूर्वको कोण ९०  डिग्री भन्दा कम हुनु राम्रो हुन्छ । एउटा कुरा यो थाहा हुनुपर्छ कि उत्तर-पूर्वी कुनादेखि दक्षिण-पश्चिम कुनासम्मको उत्तर-पश्चिम कुनादेखि दक्षिण पूर्वीकुनासम्मको माप सधै धेरै हुनुपर्दछ तर कम हुनुहुँदैन ।

७. घडेरीकोे  छनोट बाटोको अवस्थाको आधारमा
चारैतिर बाटो भएको घडेरी उत्तम मानिन्छ घडेरीको उत्तर-पूर्वी बाटोको भाग होचो भएमा धेरै राम्रो हुन्छ । अझ दक्षिण-पश्चिम कुना र उत्तर-पूर्वी कुना ९० डिग्री भन्दा कम भएमा निकै राम्रो हुन्छ, जस्तै :-

  • पूर्व, उत्तर र पश्चिम बाटो भएको साथै उत्तर तथा पूर्वको बाटो पश्चिमको भन्दा होचो भएको घडेरी  राम्रो हुन्छ । यस्तो अवस्थामा दक्षिण-पश्चिमको कुना उत्तर-पश्चिम र उत्तर-पूर्वको भन्दा अग्लो भएमा राम्रो फल प्राप्त हुन्छ ।
  • जस्तै उत्तर, दक्षिण र पश्चिममा बाटो भई पूर्वतर्फ बन्द रहेको अवस्थामा यस्तो घडेरी  व्यवसायको हिसाबले राम्रो मानिन्छ ।
  • जस्तै पूर्व, पश्चिम र दक्षिणमा बाटो भएमा यस्तो घडेरी राम्रो हुदैन । अफापसिद्ध हुन्छ ।
  • जस्तै उत्तर, पूर्व, र दक्षिणमा तर बाटो पश्चिम तर्फ बाटो नभई बन्द भएको अवस्थामा घर बनाएर बस्दा घरपरिवारलाई राम्रो हुन्छ ।
  • जस्तैः पूर्व, तर्फ बाटो भएमा सोही घरवालालाई सुख शान्ति समृद्धि प्राप्त हुन्छ । यो घडेरी सर्वौत्तम घडेरी मानिन्छ तर घर बनाउँदा वास्तुरशास्त्र अनुसार बनाउनु पर्दछ ।
  • जस्तै पश्चिमतर्फ बाटो भएको घडेरी ठीकै हुन्छ । घरवालालाई ठीकैको फल दिने हुन्छ तर घर बनाउँदा वास्तुशास्त्रलाई अनुसरण गरी बनाउनुपर्दछ ।
  • जस्तै घडेरी को उत्तरतर्फ बाटो भएमा घर बनाई बस्ने सबैको लागि राम्रो फल प्राप्त हुनेछ ।
  • जस्तै घडेरीको दक्षिणतर्फ बाटो भएमा ठीकै किसिमको फल दिनेछ । घरबनाउँदा  वास्तुशास्त्रलाई बढी ध्यान दिनु राम्रो हुन्छ ।
  • जस्तै घडेरीको उत्तरतर्फ बाटो र दक्षिणतिर बाटो छ । तर पूर्व-पश्चिमा बाटो छैन भने घरवनाई बस्ने घरवालालाई त्यति नराम्रो छैन । वास्तुशास्त्र अनुसार घर    डिजाइन गरी बनाउनु राम्रो हुन्छ ।
  • जस्तै घडेरीको पूर्वतिर बाटो र पश्चिमतिर पनि बाटो छ तर उत्तर र दक्षिण बाटो छैन भने घरबनाई बस्ने परिवारको जेठोव्यक्तिलाई बढी फलदायी देखिन्छ र वास्तुपुरुषको पूजा गर्नु राम्रो मानिन्छ ।
  • जस्तै घडेरीको उत्तर, दिशातर्फ र पश्चिम दिशातर्फ बाटो भएको तर पूर्व र दक्षिण बाटो नभएको घडेरीमा घर बनाई बस्ने घरवाला परिवारलाई सामान्य शुभ देखिन्छ । वास्तुपुरुषको पूजा गर्न उत्तम हुन्छ ।
  • जस्तै पूर्वतिर र दक्षिणतिर बाटो भएको तर उत्तर दिशा र पूर्व दिशामा बाटो नभएको घडेरीमा घरबनाई बस्ने परिवारको जेठो व्यक्तिलाई कष्ट हुन्छ र धनसम्पत्ति पनि थोरै हुन्छ ।
  • जस्तै उत्तर दिशा र पूर्व दिशामा बाटो भएको घडेरी उत्तम मानिन्छ ।

✍️ Dr./Er. Durga Bdr Shrestha

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update