काठमाडौं, भदौ २८ । जैविक, भौगोलिक र जलवायूको विविधताको धनी देश नेपालमा उष्ण, उपोष्ण, समशितोष्ण र शितोष्ण गरी सबै किसिमका फलफूलहरु खेती गर्न सम्भव छ । त्यसैले फलफूल खेतिको दृष्टिकोणले नेपाल विश्वमै प्रचुर सम्भावना बोकेको देश हो ।
औद्योगिकीरणका लागि कच्चा पदार्थका साथै निकासी हुने अधिकांश वागवानीजन्य बालीवस्तुहरु विशेषत फलफूल प्रकृतिका हुने गरेकाले फलफूल खेती अनि व्यवसाय खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात, व्यापार र विदेशी मुद्रा आर्जनका हिसावले पनि नेपालको अर्थतन्त्रको आधारशिला हुन सक्छ ।
यसकारण फलफूल खेतीमा विविधीकरण, गुणस्तरीय उत्पादन तथा व्यवसायीकरण सँगै मूल्य अभिवृद्धि र बजार माग अनुसारको उच्च गुणस्तर कायममा जोड दिनु नै आजको आवश्यकता हो । फलफूल बालीको व्यवसायिकताले ग्रामीण स्तरमा गरिबी निवारण कार्यक्रममा ठूलो योगदान पुर्याउन सक्छ । फलफूलको नर्सरी तथा बगैचा स्थापना, स्याहार सम्भार, फल टिपाई, फल भण्डारण तथा फलफूलमा आधारित प्रशोधन उद्योगहरु र फलफूल बजार व्यवस्थापन जस्ता व्यवसायहरुले रोजगारीका अवसरहरु सृजना हुनेछन् ।
फलफूल बालीमा हिउँदे, बर्षे, तथा सुन्तलाजात गरी ३ भागमा बिभाजन गरिन्छ। जसमा हिउँदे फलफूलमा स्याउ, नासपाती, ओखर, आरु, आरुबखडा, खुर्पानी, किवी, हलुवाबेद, अनार, लप्सी, लगायत समावेश छन् भने बर्षे फलफूलमा आँप, लिची, रुखकटहर, भुँइकटहर, मेवा, अम्बा, नरिवल, सुपारी हुन् भने सुन्तालाजात फलफूलमा सुन्तला, कागती, निबुवा, जुनार समावेश छन्।
आर्थिक बर्ष २०७७/७८ मा हिउँदे, बर्षे, तथा, सुन्तालाजात गरी कुल १ लाख २८ हजार हेक्टर उत्पादनशील क्षेत्रफलमा लगाईएको फलफूलबालीमा १३ लाख ५६ हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो र उत्पादकत्व १०.५४ मेट्रिक टन प्रति हेक्टर थियो। आर्थिक बर्ष २०७६/७७ भन्दा ८.५३ प्रतिशतले उत्पादन बढेको छ।
Source : Statical Information on Neplese Agriculture