Kath khabar
उपत्यकामा आज पनि यी सडकमा हुँदैछ ट्राफिक चाप
फाइल फोटो

 

                काठमाडौं, भदौ २९ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको  नेपाल भ्रमणका कारण काठमाडौं उपत्यकाका सडकहरुमा सोमबारदेखि ट्राफिक चाप बढेको छ ।

आज भक्तपुर दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम रहेकोले आज पनि उपत्यकाका सडकहरु दिनभर जसो प्रभावित हुने भएको छ । उहाँ बस्नु भएको काठमाण्डौको रविभवनमा रहेको सोल्टी होटलदेखि भक्तपुर दरबार स्वायरसम्म पुग्ने रुटमा बिहान ९ बजेदेखि नै गाडीको आवागमन प्रभावित भएको छ  ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ९ बजे पछि कालिमाटी, त्रिपुरेश्वर, कोटेश्वर देखी भक्तपुर जाने सवारी साधन प्रभावित हुने भएको छ । बिहान ९  बजेदेखिको समयमा कालीमाटी , टेकु, भोटेबहाल , त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी, सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने भएको हो । त्यस्तै दिँउसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगंज सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ । त्यसपछि भक्तपुरको भ्रमण सकेर उहाँले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ । यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपोखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

सोमवार नेपाल भ्रमणमा आउनुभएका लीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो । उहाँ भोलि बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update