काठमाडौं, भदौ २९ । श्रीलंकामा जारी यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाली टोलीले आज बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल कोलम्बोस्थित रेस कोर्स मैदानमा आज बेलुका नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।
समूह बीको शीर्ष स्थानमा रहेको नेपालले २ खेलमध्ये २ खेल जितेर सेमिफाइनलमा आयोजक तथा समूह ‘ए’को उपविजेता श्रीलंकालाई ६-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको इतिहासमा भारतले अहिलेसम्म जितेका तीनवटै उपाधि नेपाललाई फाइनलमा हराएर जितेका थिए । दक्षिण एसियाका यी दुई दिग्गज नेपाल र भारत चौथो पटक फेरी फाइनलमा भिड्दैछन् ।
नेपाली टोली समूह चरणको आफ्नो नतिजालाई दोहोर्याएर भारतलाई फेरि पराजित गर्दै पहिलो उपाधि जित्न चाहन्छ भने डिफेन्डिङ च्याम्पियन भारतले समूह चरणमा भोगेको हार चुक्ता गर्दै यो अवसरको सदुपयोग गर्दै उपाधि रक्षा गर्न चाहन्छ ।
नेपाल र भारत दुवै आक्रामक फुटबल खेल्ने टिम हुन् । त्यसैले यी दुई टोलीबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन् ।