Kath khabar
बेरोजगार ७ लाख रोजगारी पाउने जम्मा ३३ हजार, कोरोना कोषमा १० अर्ब खर्च हुन बाँकी

काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षको फागुनसम्म रोजगार सेवा केन्द्रमा सूचिकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारका रुपमा सुचिकृत भएका छन् । तर, ति मध्ये ३३ हजार ७ सय ३३ ब्यक्तिले रोजगारी पाएको सरकारले बताएको छ । रोजगारी पाउनको संख्या बेरोजगारीको तुलनामा निकै कम हो । महामारीका कारण रोजगारी गुमाउनेहरु बढेका छन् । जसका कारण पनि थप रोजगारी पाउनेको संख्या बढ्न नसकेको हो । त्यस्तै फागुनसम्म १३ हजार ५ सय २६ रोजगारदाता र १ लाख ९३ हजार ७२ जना श्रमिक सामाजिक सुरक्षा योजनामा आवद्ध भएको अर्थमन्त्रालयले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण र यसको रोकथामका लागि स्थापना गरिएको कोषमा वैशाखसम्म ३४ अर्ब ११ करोड जम्मा भएकोमा २३ अर्ब १६ करोेड खर्च भएको अर्थमन्त्री बिष्णु पौडेलले बताउनु भएको छ । तर, चैतबाट सुरु भएको दोस्रो लहर तथा यसले आर्थिक क्रियाकलाप ठप्प पारेकाले औसत खालको आर्थिक बृद्धि समेत हुन कठिन रहेको देखिएको अर्थमन्त्रालयले बताएको छ।

सरकारले भने यो वर्ष ७ प्रतिशतको आर्थिक बृद्धि हुने लक्ष्य लिएको थियो । तर, तथ्याङ्क विभागले गत वैशाखमा यसलाई ४ प्रतिशतमा संशोधन गरेको थियो । तर यो पनि कठिन भएको तर अर्थतन्त्र संकुचनमा भने नजाने अर्थमन्त्री पौडेलको भनाई छ ।उहाँले वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यसअघि तथ्यांक विभागले आंकलन गरे बमोजिमको आर्थिक बृद्धि नहुने जानकारी दिनुभएको हो ।

गत वर्ष सुदुर पश्चीम र कर्णाली बाहेक सबै प्रदेशको आर्थिक बृद्धि संकुचनमा गएकामा यो वर्ष भने सबै प्रदेशले ३ दशमलव ५ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि गर्ने अर्थमन्त्रालयले बताएको छ । यसमध्ये पनि बागमती प्रदेशको सबैभन्दा बढि ४ दशमलव छ पाँच र  प्रदेश दुईको ३ दशमलव पााँच दुई रहने अनुमान गरिएको छ। 

गत वर्ष कुल लगानी ३० दशमलव चार प्रतिशतले संकुचनमा आएकोमा यो वर्षको सोहि अवधिमा यस्तो लगानी १८ दशलमव एक प्रतिशतले बृद्धि भएको जनाएको छ ।

मुद्रास्फिीति ३ दशमलव पाँच प्रतिशत रहेको र जुन सिमाभित्रै रहेको सरकारको भनाई छ । गत वर्ष मुद्रास्फिती ६ दशमलव दुई प्रतिशत रहेको थियो । संघ प्रदेश र स्थानिय तहको कुल खर्च ११ खर्ब ९१ अर्ब रहेको छ । जसमध्ये ५६ प्रतिशत चालु र ३४ प्रतिशत पुँजीगत खर्च हो ।

बजेट घाटामा सुधार आएको सरकारको दाबी छ । संघिय सरकारको बजेट घाटा कुल गार्हस्थ उत्पादनको ८ दशमलव एक प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा ६५ दशमलव पाँच प्रतिशतले सुधार आएर २९ अर्ब १६ करोड पुगेको छ। 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update