काठमाडौं, भदौ २९ । बेलायती महारानी एलिजाबेथ द्वितीयको असोज ३ गते हुने अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्का सहभागी हुनुहुने भएको छ । बेलायत नेपालको नजिकको मित्र भएको र महारानीले दुइपटकसम्म भ्रमण गरेकाले उहाँको निधनलाई सरकारले उच्च महत्व दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँको नेपालप्रतिको माया र सद्भाव तथा गोर्खा सैनिककै सुरक्षामा रहेकाले सम्मान दर्शाउन परराष्ट्रमन्त्री सहित नेपालको उच्चस्तरीय टोली नै अन्त्येष्टि समारोहमा सहभागी हुन जान लागेको मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।
भदौ २३ गते एलिजबेथको निधन भएकोमा सरकारले २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाडौंमा रहेको बेलायती राजदूतावासमा गएर समवेदना समेत प्रकट गर्नुभएको थियो । बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन विश्वभरबाट राष्ट्रप्रमुख सहित उच्च पदस्थ अधिकारी लण्डन जाँदैछन् ।