Kath khabar
काठमाडौं उपत्यकाको लागि वाणिज्य बैंकहरूले असोज दुई गतेबाट नयाँ नोट वितरण गर्ने



           काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकाको लागि वाणिज्य बैंकहरूले असोज २ गतेबाट नयाँ नोट वितरण गर्ने भएका छन् । राष्ट्र बैंकका अनुसार बडा दशैँ २०७९ को लागि यही असोज २ गतेबाट वाणिज्य बैंकहरूबाट नयाँ नोट वितरण गरिने भएको हो ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ- बडा दशैँको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरूको माग अत्याधिक हुने गरेको विगतको अनुभवलाई मध्यनजर गरी बडा दशैँ २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस भनी यस वर्ष सम्पूर्ण वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराई सकेको छ । यसै सन्दर्भमा यही असोज दुई गतेदेखि आफ्नो बैंकको काठमाडौं उपत्यका भित्रका तोकिएका शाखा कार्यालयहरू मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले सर्वसाधारणहरूलाई नयाँ नोटको सटही सुविधाको लागि काठमाडौं उपत्यका अर्थात काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरू तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिने र त्यस्तो सूचनामा नयाँ नोट सुकिलो नो सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले सर्वसाधारणहरूलाई रु ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८,५०० रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउनु पर्नेछ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update