काठमाडौं, भदौ ३१ । नेपालका कृषकहरूले खेती तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई मिश्रित खेती भनिन्छ। सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने मल, तथा श्रम (गोरू,राँगाआदिबाट) प्राप्त हुन्छ।
नेपाल मूल रूपमा कृषि तथा पशुपालन व्यवस्थामा आश्रित छ अर्थात् राष्ट्रिय गार्हस्थ उत्पादनमा ४० प्रतिशतभन्दा बढी योगदान पुर्याउन सक्षम व्यवसाय कृषि र पशुपालन रहेको छ । नेपालमा अहिले पनि करिब ६६ प्रतिशतभन्दा बढी जनसङ्ख्या यस पेशामा निर्भर रहेका छन् । करिव ८० प्रतिशत जनता कृषि र पशुपालन व्यवसायमा संलग्न रहेको पाइन्छ । परापूर्व कालदेखि नै यो पेशा-व्यवसायलाई गुजाराको मुख्य माध्यम बनाएका नेपाली कृषकहरुले करिब १०० वर्षभन्दा बढी समयदेखि अँगाली आएको सत्य हाम्रा सामु छ ।
नेपालमा कृषि विकासका लागि राणाकालदेखि नै केही नयाँ बिउविजन, पशुपङ्क्षीका जातहरु राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको बेलायत, अमेरिका लगायतका विकसित राष्ट्रको भ्रमणको सिलसिलामा नयाँ श्रोत, कोशेली उपहार वा अनुदान सहयोगको रूपमा देशभित्र भित्राइएको पाइन्छ । खास गरी फूलका विभिन्न जातहरु तरकारीका बिउ, कुखुरा तथा गाईका नश्लहरु भित्राएर देशमा उन्नत प्रविधि ल्याउने प्रयास गरेको पाइन्छ । दोश्रो विश्वयुद्धपछि स्थापना भएका अन्तर्राष्ट्रिय संस्थाको अमेरिकन नियोगको माध्यमबाट, विश्व कृषि खाद्य सङ्गठन लगायतका निकायहरुको माध्यमबाट सञ्चालित कार्यक्रमहरु मार्फत् नेपालमा कृषि विकासका कार्यक्रमहरु सञ्चालनका लागि सहयोग गरेको पाइन्छ । योजनबद्ध रूपमा प्रथम पञ्चवर्षीय योजना २०१३ बाट नै कृषि क्षेत्रको विकास लागि योजनबद्ध लक्ष्य, उद्देश्य सहितका कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालन गरेको पाइन्छ ।
आर्थिक बर्ष २०७७/७८ को पशुपन्छीहरुमा गाई, बाख्रा, सुँगुर/बंगुर, हाँस, खरायोको संख्यामा सामान्य बृद्धि भएता पनि कुखुराको संख्यामा ११ प्रतिशतले संकुचन आएको छ। भैसी र भेडाको संख्या घटेको छ तर बाख्राको संख्या भने ४.९२ प्रतिशतले बृद्धि भएको छ। आर्थिक बर्ष २०७६/७७ मा सबै पशुपन्छीको संख्या बृद्धि भएकोमा सबै भन्दा बढी कुखुरामा ९.१ प्रतिशतले बृद्धि भएको थियो। कृतिम गर्भाधान कार्यक्रमले गर्दा उन्नत गाई भैंसीको संख्यामा बृद्धि भै दूध उत्पादनमा क्रमश बृद्धि हुँदै गएको छ। आर्थिक बर्ष २०७७/७८ मा दूध उत्पादन २४ लाख ७९ हजार मेट्रिक टन रहेको छ जुन आर्थिक बर्ष २०७६/७७ भन्दा ७.७७ प्रतिशतले बढी हो। यसैगरी आर्थिक बर्ष २०७७/७८ मा मासु उत्पादनमा ५.७ प्रतिशतले संकुचन भै ५ लाख २० हजार ७ सय मेट्रिक टन मात्र उत्पादन भएको छ। आर्थिक बर्ष २०७६/७७ मा नश्लसुधार, कृतिम गर्भाधान र ब्यबसायीक पशुपन्छी पालन कार्यक्रमको प्रभावकारिता अभिबृद्धि भै मासुको उत्पादनमा ५४.६ प्रतिशतले बृद्धि भएको थियो।