Kath khabar
सार्थक हुँदै मन्त्री अथकको “विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान”



             काठमाडौं, भदौ ३१ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. चन्नहवा, जनज्योती आ.वि. झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन्भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ति मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवटवा छनौट भएका छन्।

त्यसैगरी दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्ती सोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकर नगरकोटिया छनौटमा परेका छन्। छनौट परेका विद्यालयहरूले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन्।

कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञान ज्योति मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ति मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि.नरैनापुर सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका छन्। छनौट भएका विद्यालयहरूमा आइसिटी सूचक तथा प्रविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय छ लाख ५० हजारका दरले बजेट बिनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भइसकेका छन्। विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।  


 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update