काठमाडौं, असोज ३ । दशैँको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।
बजारको तुलनामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिनुभयो । “एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,” प्रधानले भन्नुभयो । नेपाल, भारत, चिन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत् मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिपे मार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउने छन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताउनुभयो । मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताउनुभयो । “मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यकता अनुसारका सामानहरू राखिने छ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भन्नुभयो ।
दशैँको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौँतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गरिएको उहाँको भनाई छ । असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।