काठमाडौं, असोज ३ । गायक चेतन राईको नयाँ गीत ‘तिमी धून बन, म गीत गाउँछु’ सार्वजनिक भएको छ । शब्द रचना तथा संगीत आफ्नै रहेको यस गीतमा राईसँगै चर्चित गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ ।
ए-वान म्युजिसियन स्टुडियोले रेकर्ड गरेको यस गीतमा मनोज थापा मगरको एरेन्ज, किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ भने गीतको रेकर्डिष्ट राजेश श्रेष्ठ रहेका छन् । राईको आफ्नै सेकाई इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको भिडियोको छायांकन सम्पादन र निर्देशन फराज अर्पनले गरेका हुन् । माया प्रेमसँग सम्बन्धित यस गीतको भिडियोमा सागर खनाल र प्रियंका चौधरीको आकर्षक अभिनय देख्न सकिन्छ।
पप तथा आधुनिक विधाका गीत गाउनु भएका चेतन राईको जन्म सल्यान जिल्लामा भएको हो । सन् २०१० मा ‘सेभेन’ नामक पहिलो एल्बम निकाल्नु भएका राईलाई यही एल्बमले दर्शक श्रोतामाझ चिनाएको थियो । त्यसपछि सन् २०१५ मा दोस्रो एल्बम ‘साउण्ड’ निकाल्नुभयो ।
वैदेशिक रोजगारीको सिलसिलामा जापान पुग्नुभएका राई विदेशमै रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । यहि निरन्तरतालाई अघि बढाउदै उहाँले सन् २०२१ मा तेस्रो एल्बम ‘स्टेप’ मार्फत विभिन्न गीत सार्वजनिक गर्नुभयो । ‘तिमी धून बन’ गीत चौथो एल्बम ‘स्टेज’मा समावेश हुनेछ, जसमा ६ वटा लभ सङहरु हुनेछन् । ५ वटा गितहरु आउने क्रममा छन् । ‘तिमी धून बन’ गीत सेकाई इन्टरटेन्मेन्टको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।
भिडियो लिन्क
https://youtu.be/WQ9Q3oeMy68