काठमाडौं, असोज ३ । राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब चार वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउनुहुन्छ । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१–५९७००९९ मा कल गर्न पनि सकिन्छ ।
के छ त पठाओमा सुबिधा ?
पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल-सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालीन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् ।
बिमा अन्तर्गत हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो । पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ ।
पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवश्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् । यस्तै, पठाओ प्रयोग गर्दा आपतकालीन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।
पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तव्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ । एप मार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।
सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । भने राइड सेयरिङ सुरू गरेको २ वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू रहेको हो ।