दिल्ली, असोज ५। भारतका वरिष्ठ हास्य कलाकार राजु श्रीवास्तवको बुधबार बिहान १०ः२० बजे निधन भएको छ । अगस्ट १० मा हृदयघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना भएका श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको हो ।
२५ डिसेम्बर १९६३ मा कानपुरमा जन्मेका राजु श्रीवास्तव सन् १९९३ देखि कमेडीको दुनियाँमा काम गरिरहेका राजु श्रीवास्तवलाई स्ट्यान्डअप कमेडीको राजा मानिन्थ्यो। उनले कल्याणजी आनन्दजी, बप्पी लाहिरी र नितिन मुकेश जस्ता कलाकारहरूसँग पनि काम गरे। उनी आफ्नो कुशल नक्कलका लागि परिचित थिए। उनको वास्तविक सफलता ग्रेट इन्डियन लाफ्टर च्यालेन्जबाट आएको हो। उनको गजोधरको चरित्र पनि निकै चर्चित भएको थियो ।
राजु श्रीवास्तव पहिलेदेखि नै मुटु रोगबाट पीडित थिए र १० वर्षमा तीन पटक एन्जियोप्लास्टी गराइसकेका थिए । विगत ४१ दिनदेखि जीवन र मृत्युको लडाइँ लडिरहेका श्रीवास्तव यूपी फिल्म विकास परिषदका अध्यक्ष पनि थिए।