Kath khabar
बुङ्गमतीमा पर्यटक भित्र्याउने पर्यटन व्यवसायीको प्रतिबद्धता



                 ललितपुर, असोज ५ । पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले ललितपुरको बुङ्गमतीलाई पर्यटन प्रवर्द्धनको हिसाबले प्राथमिकतामा राख्ने बताउनुभएको छ । बुङ्गमतिसँग पर्यटकलाई देखाउने थुप्रै ऐतिहासिक एवं पुरातात्विक संरचनाहरु रहेकाले यो सम्पदा बस्तीलाई प्राथमिकतामा राखिने बताउनु भएको हो ।

बुङ्गमतीमा पर्यटकहरू आधा दिनको लागि मात्रै आउने गरेको स्मरण गर्दै पर्यटकहरूको बसाइ लम्ब्याउन सकिने थुप्रै आधारहरू बनिसकेकाले त्यसतर्फ ध्यान दिएर प्याकेज बनाउन उहाँले पर्यटन व्यवसायी एवं गाइडहरूलाई अनुरोध पनि गर्नुभएको छ । युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य-सम्पदा परियोजनाले बुङ्गमतीको पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउन सीप विकाससँगै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत नाट्टाका सदस्य तथा टुर गाइडहरुलाई बुङ्गमतीको महत्व बुझाउने अभिभुखिकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै युएन ह्यबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीहरूको भौतिक पुननिर्माणसँगै आर्थिक पाटोलाई पनि ध्यान दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

बुङ्गमतीमा स्थानीयको आर्थिक पुनरुत्थानका लागि पर्यटन गतिलो माध्यम बन्ने सक्ने भएकाले विदेशी मात्रै नभएर आन्तरिक पर्यटकका लागि समेत सुहाउँदो प्याकेजहरुको व्यवस्थापन गर्न पर्यटन व्यवसायीहरूसँग आग्रह गर्नुभयो । यस्तै ललितपुर वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधरले सबैभन्दा ठूलो वडा भएकाले बुङ्गमतीमा पूर्वाधारहरूको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पर्यटकलाई देखाउने कुरा धेरै भएकाले यसको प्रवर्द्धन गरेर आफ्नो सँगै स्थानीयको पनि आयवृद्धिमा सहयोगी बनिदिन पर्यटन व्यवसायीहरू समक्ष अनुरोध गर्नुभयो । वडाध्यक्ष तुलाधरले नाट्टाका अध्यक्ष थापालाई बुङ्गमतिको पर्यटकीय क्षेत्रबारे जानकारी दिने नक्सा समेत हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा युएन ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्राचार्यले बुङ्गमतीमा रहेका ऐतिहासिक एवं धार्मिक स्थलबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। यस्तै पर्यटन व्यवसायीलाई दुईजना स्थानीय गाइडले बुङ्गमतीको भ्रमण गराएका थिए ।

भ्रमणपछि पर्यटन व्यवसायी एवं टुर गाइडहरुले बुङ्गमतीको बजारिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भिलेज टुर भनेर आधा दिनको प्याकेजहरू पर्यटक समक्ष प्रस्तुत गरिरहेको स्मरण गर्दै उनीहरूले नयाँ ढाँचाले प्याकेजहरू बनाएर बुङ्गमतीमा पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएका छन् ।


 

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update