काठमाडौं, असोज ६ । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ भने नेपालमा भने फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी रहेको छ ।
पहिलो पटक एकसाथ विदेशका धेरै हलहरुमा प्रदर्शन हुने निश्चित भएको प्रेम गित-३ पहिलोपटक हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ । यस्तै अष्ट्रेलियामा पनि २० हलमा प्रदर्शन हुने भएको छ ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् भने फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका छन् । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय देख्न सकिन्छ।
सञ्जय संक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको फिल्ममा पुरुषोत्तम प्रधान राजेश श्रेष्ठको छायांकन रहेकोछ । निर्माण लागत पनि ११ करोड भारु रहेको ‘प्रेमगीत’को विश्वभर ओपनिङ कलेक्सन साढे ५ करोड भारु ग्रस हुने जनाइएको छ । फिल्म असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ।