ललितपुर, असोज ७ । ललितपुर महानगरपालिका-३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका-५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सहकारी ऐन-२०७४, नियमावली-२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिक- २०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लि.का तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चार्टर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहनुभएको छ । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चार्टर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहनुभएको छ ।
सम्झौता लगत्तै दुई ठूला श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठूला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।