इराक, जेठ १५ । नेपालले घरेलु टिम इराकविरुद्ध आज मैत्रीपूर्ण खेल खेल्दैछ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार रातीको सवा १० बजेबाट सुरु हुनेछ । कोभिड निर्देशिकाकारण नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुनेछ ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले तयारी स्वरुप फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकसँगको खेल जितका लागि भन्दापनि राम्रो अनुभवका लागि हुने बताउनु भएको छ । युवा खेलाडीलाई इराकसँगको खेल राम्रो एक्पोजर हुने र खेलाडी आफैले पनि आफुलाई मुल्याकंन गरेर भविष्यमा खेल सुधार गर्ने अवसरका रुपमा हुने उहाँले बताउनु भयो । विश्वकप छनौट तथा मैत्रीपुर्ण खेलमा हुने प्रदर्शनका आधारमा खेलाडीको प्रदर्शनलाई मुल्याङकन नगर्न समेत उहाँले आग्रह गर्नु भएको छ । उहाँले आफ्नो लक्ष्य साफ उपाधी रहेको बताउनु भएको छ ।
यस्तै कप्तान किरण चेम्जोङले नेपाली टिम इराकसँग खेल्नका लागि तयार रहेको र आफु भन्दा बलियो टिमसँग खेल्न पाउनु हाम्रो लागि निकै सुखद पक्ष रहेको बताउनु भयो । साथै उहाँले यो खेलले विश्वकप छनौटका लागि राम्रो अनुभव हुने धारणा राख्नुभएको छ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् । कुवेतमा हुने छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।