Kath khabar
इरानी महिलाहरूले  किन हिजाब जलाउन थाले ?

              तेहरान, असोज ७।  टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले तेहरानमा गिरफ्तार गर्‍यो। शरियामा आधारित इरानी कानुनअनुसार महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्।

हिरासत कक्षमै अचेत भएपछि उनी कोमामा गइन् र त्यसको तीन दिनपछि अस्पतालमा उनको मृत्यु भयो। उनको टाउकोमा लट्ठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ। यद्यपि अधिकारीहरूले उक्त त्यसको खण्डन गरेका छन्।

हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शनहरू सुरु भएका छन्। उक्त इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन्।

इरानी अधिकारीहरूको "खराब हिजाब" अर्थात् टाउकोमा स्कार्फ वा अनिवार्य लगाउनुपर्ने अन्य कपडा गलत तरिकाले लगाउनेहरू विरुद्धको लडाइँ सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै सुरु भएको हो। उक्त लडाइँको प्रमुख उद्देश्य महिलाहरूलाई शालीन ढङ्गमा लुगा लगाउने बनाउनु थियो।

त्यतिबेला धेरै महिलाहरूले त्यसो गरिरहँदा पश्चिम समर्थक शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्नुअघि तेहरानको सडकमा मिनिस्कर्ट लगाउने र कपाल नछोपी हिँड्ने चलन सामान्य थियो। प्रायः पश्चिमी लुगा लगाउने उनकी पत्नी फराह आधुनिक महिलाको रूपमा चिनिन्थिन्।

सन् १९७९ को मार्च महिनामा आन्दोलनको नेतृत्व गर्ने अयातुल्ला रुहोल्लाह खोमेनीले आफ्नो कार्यस्थलमा सबै महिलाहरूलाई हिजाब अनिवार्य हुने र हिजाब नलगाउने महिलालाई "नग्न" ठहर गर्ने बताए। "उनको भाषणलाई धेरै क्रान्तिकारीहरूले महिलाको टाउकोमा जबरजस्ती हिजाब लगाउने आदेशको रूपमा बुझे, धेरैले रातभरिमै उक्त आदेश लागु हुने ठानेका थिए। त्यसैले धेरै महिलाहरूले तत्काल प्रतिरोध गर्न थाले।"

आदेश दिइएको भोलिपल्ट अन्तर्राष्ट्रिय महिला दिवस थियो। त्यस दिन प्रायः महिला सहित एक लाखभन्दा बढी मानिसहरू तेहरानको सडकमा प्रदर्शनका निम्ति भेला भए।

गत वर्ष राष्ट्रपति निर्वाचित कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसीले अगस्ट १५ मा प्रतिबन्धहरूको नयाँ सूची लागु गर्नेगरी एक आदेशमा हस्ताक्षर गरे। त्यस सूचीमा शरीर नढाकेका महिलाहरूमाथि निगरानी गर्न र जरिवाना तिराउन वा उनीहरूलाई परामर्श का लागि पठाउन सीसीटीभी क्यामरा राख्ने कुरा समाविष्ट छ।

त्यसमा हिजाब सम्बन्धी नियम विरुद्ध अनलाइन सामग्री राख्ने, प्रश्न वा पोस्ट गर्ने इरानी नागरिकलाई अनिवार्य जेल सजाय तोकिएको छ। ती प्रतिबन्धहरूका कारण गिरफ्तार हुने मानिसको सङ्ख्या त बढ्यो तर सामाजिक सञ्जालमा कपाल नढाकी आफ्नै तस्बिर तथा भिडिओहरू सार्वजनिक गर्ने महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भयो। अमिनीको मृत्युपछि उक्त सङ्ख्या बढ्ने क्रम तीव्र भएको छ।
 

साभार:बीबीसी

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update