Kath khabar
युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हटएयर बलुन पुन: सञ्चालनमा

              काठमाडौं, असोज ७ ।  पोखरामा हट एयर बलुन अक्टोबर १ (असोज १५) देखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिनुभयो ।

‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उहाँ भन्नुहुन्छ, ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामिले युरोपबाट बोलाउनु परेको हो ।’

बलुनमा १ पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ ।  उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८,००० र विदेशीलाई १०० डलर शुल्क तोकिएको बाडेले जानकारी दिनुभयो ।

बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिडका कारण केही समय बन्द गरिएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका ३ महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने छ । फेवा किनारबाट ३ देखि ४ हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update