Kath khabar
कतारमा हुने २०२२ विश्वकप गुमाउने यि ४ स्टार खेलाडी

              काठमाडौं, असोज ९ ।  नोभेम्बर तेस्रो सातादेखि सुरु हुने फिफा विश्वकप २०२२ कतारमा सहभागी ३२ टोलीको समूह विभाजन र खेल तालिका तयार भइसकेको छ । विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सहभागी टोलीहरु आ-आफ्नो क्षेत्रको छनोट चरण पार गर्दै मुख्य प्रतियोगिताका लागि छनोट भएका हुन् । यसक्रममा केही ठूला टोलीले पनि विश्वकपमा स्थान बनाउन सकेका छैनन् । वर्तमान समयमा विश्व फुटबलमा चर्चा बटुलेका केही स्टार खेलाडी विश्वकपमा छनोट हुन नसक्दा त्यस समयमा आफ्नो क्लबसँग प्रशिक्षण गरिरहेका हुनेछन् ।

एर्लिङ हालान्ड : स्म्यानचेस्टर सिटी आएयता इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेका हालान्डको टोली नर्वे विश्वकपमा छनोट हुन सकेन । त्यसैले उनी विश्वकपमा खेल्ने छैनन् । विश्वकप छनोटमा राष्ट्रिय टोलीका लागि ५ गोल गरेपनि नर्वेले छनोट चरण पार गर्न सकेन । युरोपेली छनोटको समूह जीमा नेदरल्यान्ड्सले शीर्षस्थान हासिल गर्दा टर्की दोस्रो भएको थियो ।

मोहमद सलाह : लिभरपुलका स्टार मोहमद सलाहको टोली इजिप्टले पनि विश्वकपमा स्थान बनाउन सकेन । अफ्रीका कप अफ नेसन्सको फाइनलमा सेनेगलसँग हार बेहोरेको इजिप्टले विश्वकप छनोटमा पनि सेनेगलसँग नै हार बेहोरेको थियो । छनोटको निर्णायक खेल टाइब्रेकरमा पुग्दा सलाहले पेनाल्टीमा गोल गर्न सकेनन् र इजिप्ट विश्वकप पुग्न सकेन ।

डेविड अलाबा : रियल म्याड्रिडका मुख्य डिफेन्डर डेविड अलाबा पनि यसपटक विश्वकपमा देखिने छैनन् । युरोपेली च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको अष्ट्रियाले विश्वकप छनोटमा भने सोही लयलाई कायम राख्न सकेन । अष्ट्रियाले विश्वकप छनोटको प्लेअफमा वेल्सविरुद्ध २-१ को हार बेहोरेको थियो ।

मार्को भेराट्टी : आधुनिक फुटबलका उत्कृष्ट मिडफिल्डरमा गनिने भेराट्टीले हालसम्म १ विश्वकप मात्र खेलेका छन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनी टोलीमा रहेका थिए । त्यसयता इटालीले सन् २०१८ मा रुस र सन् २०२२ मा कतारमा भएको विश्वकपमा स्थान बनाउन सकेन । युरोपेली च्याम्पियन इटाली विश्वकप छनोट प्लेअफमा उत्तर म्यासेडोनियासँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update