काठमाडौं, असोज ११ । सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईन्छ । स्थानीय भाषामा यसलाई मृगे च्याउ भनिन्छ । यो च्याउ झरीको मौसममा जंगलमा फालिएका काठको मूढामा उम्रिराखेको हुन्छ । करिब ३५० सय वर्ष अगाडि चीनका वैज्ञानिकहरुले कृत्रिम तरिकाबाट यसको खेतीको शुरुवात गरेका थिए भने पछि जापानीजहरुले यसको विस्तार गरी नामाकरण गरेका हुन् । जसमा जापानीज भाषामा सी (Shi) भनेको काठको मुढा र ताके (Take) भनेको च्याउ भनिन्छ ।
ओखर, उत्तिस, सौर, लाकुरी, खस्रु आदि काठका मुढाहरुमा सिताके च्याउ उत्पादन गर्न सकिन्छ । तसर्थ वन विकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गर्ने काठहरुमा यो च्याउ खेती गर्न सम्भव देखिएको छ । विश्वका विभिन्न देशहरुमा सिताके च्याउ खेती हुने गरेको पाईन्छ । सिताके च्याउ सबैभन्दा बढी उत्पादन हुने देश चीन नै रहेको छ । सिताके च्याउ विभिन्न तरिकाबाट उत्पादन गर्न सकिन्छ । तर यँहा काठको मुढामा खेती गर्ने तरीका उल्लेख गर्दैछौँ ।
काठको छनौटः
- विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठहरुमा खेती गर्ने गरेको पाईन्छ । तर नेपालमा गरिएको हालैका अनुसन्धानबाट प्राप्त नतिजा अनुसार उत्तिस, सौर, कटुस, लाकुरी, खस्रु आदि मध्ये आफूलाई जुन काठ सहज उपलब्ध हुन्छ त्यसैलाई छनौट गरी खेती गर्न सकिन्छ ।
काठका मुढाहरु कटान गर्नेः
- सिताके च्याउ खेती गर्नका लागि काठका मुढाहरु कटान गर्दा ५-१० वर्ष पुरानो रुखहरुबाट १०-२० से.मी. गोलाई भएको काठ १-१ मिटर लामो काट्नु पर्दछ । काठ काट्दा कार्तिक देखि फाल्गुण महिना भर काट्न सकिन्छ । मंसिर महिना सबैभन्दा राम्रो समय मानिन्छ । काठ काट्दा बोक्रा उप्कन दिनु हुँदैन ।
काठको मुढाहरु सुकाउनेः
- यसरी रुखबाट आफूलाई चाहिने जति काठको मुढाहरु काटिसकेपछि २०-३० दिनसम्म छायाँमा सुकाउनु पर्दछ । काठहरु सुकाउँदा सिधा घाममा नसुकाई रुखको छहारी वा अलि-अलि स्याउला वा परालले छोपेर सुकाउनु पर्दछ
- उक्त काठ काट्ने बेलामा काठमा ६० प्रतिशत चिस्यान हुन्छ भने सुकाएर ४०-५० प्रतिशत कायम गर्नु पर्दछ । चिस्यान बढी भएमा धेरै ढूसी उम्रिएर काठ चाडै सड़दछ भने चिस्यान कम भएमा च्याउ राम्रोसँग उम्रिदैन ।
काठका मुढामा प्वाल पार्ने तरिकाः
- काठको मुढामा च्याउको वीउ जाडो मौसममा रोप्नु पर्दछ । रोप्ने बेलामा वायुमण्डलीय तापक्रम १०-२० डि.से. हुनु पर्दछ भने सापेक्षिक आद्र्रता ७०-८० प्रतिशत हुनु जरुरी छ ।
- काठको मुढामा प्वाल पार्दा काठको एक टुप्पोबाट अर्को टुप्पोसम्म ८ औला अर्थात १० से.मी. फरकमा १ सें.मी. गोलाई र २ से.मी. गहिराई हुनुपर्दछ । एक लाईन प्वाल पारिसकेपछि दुईवटा प्वालको बीचमा ५ से.मी. टाढा १० से.मी. का दरले दोश्रो लाइन प्वाल पार्नु पर्दछ ।
काठका मुढाहरुमा वीउ रोप्ने तरिकाः
- काठका मुढाहरुमा प्वाल पार्ने काम सकिएपछि वीउ राप्ने तयारी गर्नु पर्दछ । वीउ रोप्नको लागि निम्न सामानहरुको आवश्यकता पर्दछ ।
- काठमा प्वालपार्ने ड्रिल मेसिन १ थान २ से.मी. गहिरो सम्म प्वाल पार्नका लागि
- पाराफिनवाक्स (कोरा मैन)
- मैन पगाल्ने सानो डेक्ची १ थान
- सिताके च्याउको वीउ आवश्यकता अनुसार
वीउ निकालेर हाल्ने बाटाः
- आवश्यक प्वालहरु पारीसके लगत्तै बीउ रोप्ने काम गर्नु पर्दछ । सीताके च्याउको वीउ काठको धुलोमा बनाएको हुनुपर्दछ । यो वीउ प्यकेटबाट निकाली एउटा भाडामा राख्ने र बुढी औला जत्रा टुक्रा वीउ लिएर काठका प्वालमा राखी औलाले विस्तारै थिचेर भित्र पठाउनु पर्दछ ।
- यसरी काठका प्वालमा वीउले भरेर काचो मैन तताएर कपडा बरेको सिन्कोले उक्त वीउ रोपेको प्वालमा मैनले टाली दिनु पर्दछ ।
- सबै काठका मुढाहरुमा एकसाथ प्वाल पार्ने र सबै प्वालमा वीउ रोप्दै जाने र अन्त्यमा मैनले प्वाल टाली दिनु पर्दछ । यति गरेपछि सिताके च्याउको वीउ रोप्ने काम सकिन्छ । यो च्याउको ढूसी काठको बोक्राभित्र क्याम्बियम भन्ने तहमा फैलन्छ। काठको बोक्राले यो ढूसीलाई बचाई राख्छ र च्याउ निस्कने बेलामा काठको बोक्राले ठूलो मदत पुर्याउँछ ।
वीउ रोपेका काठका मुढाहरुको हेरचाहः
- यी काठका मुढाहरुलाई अली अली घाम पर्ने छायाँ भएको ठाउँ वा ठूलारुखहरुको छहारी भएको ठाउँमा राख्न सकिन्छ । वीउ रोपेको १ महिना सम्म यी काठहरु चाङ लगाएर राख्नु पर्दछ र ७-७ दिनको फरकमा हजारी वा सिधै धाराबाट आएको पानीले चाङ भिजाउनु पर्दछ ।
- १ महिनापछि यसलाई ४ वटा ४ तिर राखेर क्रिसक्रस एकपछि अर्को तह गर्दै चाङ लगाएर राख्ने र दिनको एकपटक हजारीले वा सिधै धाराबाट आएको पानीले भिजाउँदै जानु पर्दछ । यसरी प्रत्येक महिनामा चाङलाई पल्टाउदै पानी दिदै जाने यसरी वीउ रोपेको काठको मुढालाई ९ महिनासम्म स्याहार गर्दै जानु पर्दछ ।
- काठलाई मंसिरमा काटी पौषभरि १ महिना छहारीमा सुकाएर माघ महिनामा वीउ रोप्दा ठीक हुन्छ । वीउ रोपेपछि ८ महिना (फागुन देखि भदौ) सम्म हरेक महिना पल्टाउँदै जाने र दिनदिनै पानी हाल्ने त्यसपछि च्याउ फलाउनलाई छाप्रोमा राम्रोसँग मिलाएर राख्नु पर्दछ ।
च्याउ फलाउने तरिकाः
- वीउ रोपेका मुढाहरुमा राम्रोसँग ढूसी फैलिएपछि च्याउ फलाउने छाप्रो वा छहारीमा राख्नु पर्दछ । त्यस बेला काठका मुढाहरु भुईमा नराखी ठाँडो पारेर राख्नु पर्दछ । छाप्रोको लम्बाई अनुसार एउटा वा दुईवटा बाँस छाप्रोको बीचमा काठको अडेस लगाएर राख्ने अनि यहि बाँसलाई सपोर्ट हुनेगरी वीउ रोपेका मुढाहरु ठाडो पारेर लहरै मिलाएर राख्नुपर्दछ ।
- यसरी एउटै बाँसमा दुवै पट्टिबाट दुईलाईन काठका मुढाहरु राख्न सकिन्छ । यसैबेला छाप्रोको छेउमा एउटा सानो पोखरी बनाएर सफा पानी जम्मा गर्ने अनि यी काठहरुलाई पटक-पटक गरी पोखरीको पानीमा १२-२४ घण्टासम्म ढुबाउने अनि बाँसमाथि सोझै ठडाएर राख्ने र मुढा भिज्ने गरी दिनदिनै पानी हाल्दै गर्ने ।
- यसरी काठहरु ठाडो पारेर राख्दा काठमा घाम छिर्न दिनु हुँदैन र काठ राखेको ठाउँ ओसीलो हुनुपर्दछ । केही दिनपछि यी वीउं रोपेको काठको प्वालबाट वा अन्य भागबाट सानो सानो च्याउ उम्रन थाल्दछ । यी उमे्रका च्याउ ठूलो हुनलाई ४-६ दिन लाग्दछ ।
- एउटा मुढामा १ वर्षमा ३ पटकसम्म च्याउ फलाउन सकिन्छ । एक चोटि च्याउ फलिसकेपछि त्यो मुढालाई ४०-६० दिनसम्म पानी नदिइकन आराम गराउनु पर्दछ र फेरी पानीमा डुबाएर पानी छर्नुपर्दछ । यसरी पटक-पटक गरी काठका मुढाबाट च्याउ फलाउने कोशिस गर्नुपर्छ । मौसम अनुसार श्रावण देखि फाल्गुण महिनासम्म च्याउ फल्ने सम्भावना रहन्छ । तर ज्यादै जाडो हुने महिना पुष र माघमा भने खासै फलेको देखिएन ।
- यदि सिताके च्याउ खेती गर्दा कुनै रोग कीराको समस्या आएमा मुढालाई राम्ररी पखाल्ने वा चक्कुको सहाएताले पातलो बोक्रा हटाएर सफा गर्ने गर्नु पर्दछ ।
- माथि उल्लेखित प्रविधिहरु काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरिका र समयमा गरेको खण्डमा उक्त काठबाट महंगो च्याउ फलाई स्थानीय रोजगारीको सृजना गरी आर्थिकस्तर उकास्न सकिन्छ ।
सिताके च्याउको रोगकीरा व्यवस्थापनः
- धमिराबाट जोगाउन काठहरु प्लाष्टिक माथि राख्ने, सुन्तलाको तेल र भेनेगर छर्ने
- काठको कुनै भागमा रोग देखिए त्यस भागलाई खुर्केर फाल्ने ।
- मुसाबाट जोगाउन सफासुग्घर राख्ने तथा विषादीको प्रयोग गर्ने ।
क्रमश: