Kath khabar
किरण चेम्जोङको कप्तानीमा आज नेपाल र बंगलादेश भिड्दै


                काठमाडौं, असोज ११ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मंगलबार बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ ।

सोमबार भएको कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित भएका थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरेका छन् । 'यो खेलको जित र हारले ठुलो अर्थ लाग्छ । बंगलादेशसँगको हाम्रो खेल सधैं प्रतिस्पर्धात्मक हुन्छ । मंगलबारको खेल पनि उस्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।’ कप्तान किरणले भनेका छन् ।

यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् । यसपटक तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण क्याम्पबाट निकालेका १० खेलाडीसहित कप्तान किरण चेम्जोङले पूनरागमन गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update