Kath khabar
दुई महिनामै नेपालको व्यापार घाटा साढे दुई खर्ब


                काठमाडौं, असोज ११ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा झण्डै साढे २ खर्ब पुगेको छ । सरकारले आयातमा कडाई गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा आयात घटेपनि निर्यातमा समेत गिरावट आएको छ ।

दुई महिनामा तीन खर्ब दुई अर्ब २८ करोडको वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड नाघेको हो । जुन अघिल्लो आवको यसै अवधिको भन्दा १५.७० प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा नेपालले दुई खर्ब ७० अर्ब ४७ करोड व्यापार घाटा थियो । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ ।

दशैं नजिकिँदै गर्दा साउनको तुलनामा भने भदौमा आयात बढेको भन्सार विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात भएको थियो । दुई महिनामा २८ अर्ब ६८ करोडको निर्यात भएको छ । जुन गत आवको सोही अवधिभन्दा ३४.८८ प्रतिशत कम हो । गत आवको पहिलो दुई महिनामा ४४ अर्ब बराबरको वस्तु निर्यात भएको थियो ।

दुई महिनामा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड तीन लाख रुपैयाँको एलपिजी ग्याँस आयात भएको छ भने नौ अर्ब आठ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, सात अर्ब २७ करोड ८४ लाख रुपैयाँको फेरस प्रोडक्ट, ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कच्चा पाम तेल, छ अर्ब १८ करोड नौ लाख रुपैयाँको मोबाइल, छ अर्ब १८ करोड एक लाख रुपैयाँको फलाम तथा स्टिल र चार अर्ब ९१ करोड ९१ लाख रुपैयाँको डण्डी आयात भएको विभागले जनाएको छ ।

नेपालले सो अवधिमा २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको पामोलिन तेल निर्यात गरेको छ । त्यस्तै, २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट, १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँको भटमासको तेल, ३ अर्ब २२ करोड ५ लाख रुपैयाँको पाम तेल १ अर्ब २० करोड ६६ लाख रुपैयाँको फेल्ट, ९० करोड ६९ लाख रुपैयाँको चिया, ७४ करोड ७७ लाख रुपैयाँको चिया, ६८ करोड २६ लाख रुपैयाँको धागो र ६८ करोड ९ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।  यस्तै दोस्रो ठूलो व्यापार घाटा रहेको चीनसँग तीन अर्ब ७० करोड व्यापार घाटा छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update