Kath khabar
उपमेयर डंगोलको टोली दशैँ लक्षित बजार अनुगमनमा

 

                 काठमाडौं, असोज ११ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । 

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनुभयो ।

उहाँले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउनु भयो । उहाँले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनु भयो । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गर्नुभयो ।

उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताउनु भयो । उहाँले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update