काठमाडौं, असोज १२ । च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ । च्याउजातिका बिरुवाहरू फन्जाई वर्गमा पर्दछन् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यी बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनिहरूले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यी बिरुवाहरु मृतोपजीवी हुन् । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् ।
रातो च्याउ :
सामान्यतया बजारमा पाईने च्याउभन्दा फरक रंग र औषधिय गुणले भरिपूर्ण रातो रंगको च्याउलाई नेपालीमा रातो च्याउ भनिन्छ । अंग्रेजीमा Reishi Mushroom Manentake र जापानिज भाषामा पनि रेशी (Reishi) भनिन्छ । यसको वैज्ञानिक नाम Ganoderma हो । यसको डाठ कालो रंगको हुन्छ । कुनै कुनै च्याउको छाता गाढा रातो रंगको पनि पाईएको छ । यो च्याउ समुद्री सतहबाट १,००० देखि १,८०० मिटर उचाइ भएका पहाडी भु-भाग भएका जंगलमा पाईन्छ ।
यो काठमाडौं उपत्यकाको फूल्चोकी, शिवपुरी, नागर्जुन, सुन्दरीजल, चन्द्रागिरी, लेले, सूर्यविनायक तथा उपत्यका बाहिर टिष्टुङ्ग, पालुङ्ग, दामन आदी ठाउँमा पनि पाइएको छ । यसलाई जंगलबाट संकलन गरि ल्याएर त्यसैबाट बीउ तयार गरी यसको खेती तथा अनुसन्धान भईरहेको छ । नेपालमा पनि नेपाली, जापानिज, फिलिपिनो र बेल्जीयम जातका रातो च्याउको केही मात्रामा खेती भइरहेको छ । कतै कतै व्यवसायिक रुपमा पनि खेती भईरहेको छ । केही मात्रामा काठमाडौं उपत्यकाको बजारमा यस च्याउको बिक्री वितरण पनि भैरहेको पाइएको छ । यसको बजार मुल्य अरु च्याउको तुलनामा महगो छ । बजारमा यसको माग बढी रहेको पनि छ ।
यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभई विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका विरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँने तथा यौन बर्द्धक पनि मानिएको छ । Oxidation बाट पैदा हुने Peroxide बाट हुने कलेजो वा प्यानक्रियाज् आदिको कोषको संरक्षण गर्दछ । प्रोटिज (Protease), गानोर्डरिक अम्ल (Ganoderic acid) मा मानिसको रगत जमाउने कार्यमा कमि ल्याउने वा जम्न नदिने क्षमता रहेको छ ।
हावापानी :
यसको खेती २२ देखि ३१ डि.से तापक्रम भएको ठाउँमा गर्न सकिन्छ तर उपयुक्त तापक्रम भने २५ देखि २८ डि.से र सापेक्षिक आर्द्रता ८० देखि ९५ प्रतिशत हुनु पर्दछ बढी तापक्रम भएमा रोग कीरा लाग्ने सम्भावना हुन्छ । खेती गर्ने ठाउँ बढि ओसिलो हुनु आवश्यक छ ।
खेती गर्ने सरल तरिका :
यस रातो च्याउको खेती जुनसुकै काठको मुढामा गर्न सकिदैन, तर हाम्रै गाउँघरमा सजिलैसंग प्राप्त हुन सक्ने उत्तिस काठको मुढामा यस च्याउको खेती गर्न सकिन्छ । रुख ८ देखि १० वर्ष जति उमेरको हुनु पर्दछ रुखलाई पालुवा आउनु अगाडि अर्थात कात्तिक मंसिरमा काट्नु पर्दछ । काठको मुढाको लम्बाइ १५ से.मी र गोलाई करिब २० देखि २५ से.मी आवश्यक छ । यसरी तयार पारिएको काठको मुढालाई प्लाष्टिकको झोला (कन्ये च्याउ रोप्ने झोला जस्तो) भित्र राखी प्लाष्टिकको झोलाको मुख बाँधेर ड्रममा कन्ये च्याउको पराल बफ्याए जस्तै गरि बफ्याउनु पर्दछ । बफ्याउँदा ड्रमको बाहिरी भागमा हातले छुन नसकिने तातो हुनु पर्दछ । यो प्रक्रिया करीव ३ देखि ४ घण्टा समय लाग्दछ ।
काठको मुढालाई बफ्याए पछि चिसो बनाउनका लागि सुरक्षित स्थानमा राख्नु आवश्यक छ । काठको मुढा चिसो भएपछि प्लाष्टिकको मुख खोली रातो च्याउको बीउ सुरक्षित साथ छर्नु पर्दछ । बीउ छरिसके पछि २० देखि २५ डि.से तापक्रम भएको कोठामा मुढामा ढुसी फैलाउन राख्नु पर्दछ । करिब अढाई महिनामा काठको मुढामा इसी फैलिई सक्दछ ढुसी फैलिई सकेपछि प्लाष्टिकको झोला हटाई काठको मुढालाई माटो भित्र गाड्नु पर्दछ। माटो भित्र गाडेको २ देखि ३ महिना भित्र च्याउ उम्रन शुरु गर्दछ । च्याउ उमार्ने ठाउँमा सापेक्षित आर्द्रता ९० प्रतिशत भन्दा माथि भएको र उज्यालो हुनु आवश्यक छ ।
पौष माघमा यस च्याउको बीउ रोपेमा जेष्ठ-आसाढमा च्याउ उत्पादन शुरु हुन्छ वर्षमा २ बाली लिन सकिने र उत्पादत्क पनि राम्रो र बजार मूल्य पनि राम्रो देखिएको छ । सुकाएर लामो समयसम्म यसको भण्डारण गर्न पनि सकिन्छ । प्रति किलो ३,००० देखि ४,००० रुपैयाँसम्ममा बिक्री भएको पनि पाईएको छ ।
तर रोग, कीरा र जंगली ढुसीले सजिलै आक्रमण गर्न सक्ने भएकाले यस रातो च्याउको खेती गर्दा विशेष ध्यान पुर्याउनु पनि त्यत्तिकै अति आवश्यक छ ।
साभार: नेपाल कृषि अनुसन्धान परिषद