काठमाडौं, असोज १३ । तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन । मानव स्वास्थका लागि च्याउ एक महत्वपूर्ण खाद्यान्न हो । यसको सेवनबाट तल उल्लेखित फाईदाहरु प्राप्त हुन्छः
- प्रोटिनको राम्रो स्रोत
- उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग गर्दछ ।
- क्यान्सर रोग र ट्युमर घटाउन मद्दत गर्दछ ।
- अनावश्यक मोटोपन घटाउन सहयोग गर्दछ
- रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्दछ ।
नेपालमा ५ किसिमका च्याउ व्यवसायिक उत्पादनका लागि प्रयोग भईरहेका
छन् । ती यस प्रकार रहेका छनः
- कन्ये च्याउ (Oyster Mushroom)
- गोब्रे च्याउ (Button Mushroom)
- सिताके च्याउ (Shitake Mushroom)
- पराले च्याउ (Straw Mushroom)
- रातो च्याउ (Ganoderma Mushroom)
कन्ये च्याउ उत्पादन प्रविधि : (Oyster Mushroom Production Technology)
कन्ये च्याउ खेती गर्दा २०-३० डि.से. तापक्रम र आद्र्रता ८०-९० प्रतिशत हुनुपर्छ । व्यवसायिक उत्पादनका लागि २२-२५ डि.से. तापक्रम उपयुक्त मानिन्छ। कन्ये च्याउ खेतीका लागि धानको पराल, गहुँको छ्वाली, मकैको खोस्टा, तोरीको डाँठ, कागज आदिको सदुपयोग गरी च्याउ उत्पादन गर्न सकिन्छ, तर धानको परालमा सजिलोसँग गर्न सकिने र राम्रो उत्पादन हुने पाईएको छ ।
उत्पादन विधि :
- सवैभन्दा पहिला सफा परालको व्यवस्था गर्ने ।
- वीउको मात्रा मिलाउनेः साधारणतया १ के.जी.परालमा च्याउ उत्पादन गर्नका लागि ५० ग्राम च्याउको वीउ चाहिन्छ।
- त्यसपछि पराललाई २-३ इन्च वा ४-५ अंगुल हुने गरी टुक्रा पार्ने ।
- टुक्रा पारेको पराललाई ४-५ घण्टा सफा पानीमा डुबाउने ।
- सफा पानीले २-३ पटक परालमा भएको धुलो पखाल्ने ।
- भिजाएको परालमा बढी भएको पानी हटाउन ४-५ घण्टासम्म भिरालो ठाउँमा फिँजाई पानी तर्काउने परालमा ठीक्क चिस्यानको मात्रा छ छैन भनी जाँच्नका लागि मुठ्ठीमा पराल राखेर निचोर्दा पानी ननिस्कने तर हत्केला चिसो भएको हुनुपर्छ ।
- परालमा भएका शूक्ष्म जीवाणुलाई मार्न पानीको वाफले १-२ घण्टासम्म पराल बफाउने ।
- बफाएको पराललाई सफा ठूलो प्लाष्टिकमा राखी चिसो भएपछि झोलामा ४ ईन्च जति पराल राखी वीउ छर्ने र फेरी ४ ईन्च पराल राख्ने र वीउ छर्ने । यसै गरी ४-५ तहसम्म वीउ छर्ने । परालमा ढूसी राम्रोसंग फैलाउन राम्रो तरीकाले थिच्नुपर्छ ।
- प्लाष्टिकभित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकाले १० से.मी. फरकमा १ से.मी. गोलाईको प्वाल पार्ने ।
- वीउ रोपी सकेको प्लाष्टिकको झोलालाई अँध्यारो ठाउँमा २२-२५ डि.से. तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी २१ दिनसम्म राख्नुपर्दछ ।
- परालमा पुरा ढूसी पैmलिएपछि प्लाष्टिक झोला हटाउने वा २-३ ठाउँमा चक्कुले प्लाष्टिक काटेर हटाउने र च्याउको बललाई कम अँध्यारो ठाउँमा भेण्टिलेशन भएको ठाउँमा राख्ने ।
- च्याउको बललाई झुण्ड््याएर राख्ने हो भने पूरै प्लाष्टिक हटाउनु पर्दैन ।
- प्लाष्टिक झोला हटाउने समयमा परालमा स-साना च्याउका दाना पनि देखिन्छ ।
- दिनको २-३ पटक पानी छर्कने ।
- एउटा डल्लोमा ३-४ पटकसम्म च्याउ फल्दछ ।
- १ किलो सुख्खा परालबाट ८००-१००० ग्राम च्याउ उत्पादन हुन्छ ।
रोगकीरा व्यवस्थापन :
- सरसफाइमा बढी ध्यान दिने
- गुणस्तरीय वीउको प्रयोग गर्ने
- पराललाई राम्रोसँग बफाउने ।
- भुसुनाबाट जोगाउन ढोका र भेण्टिलेशनमा मसिनो जाली प्रयोग गर्ने, नीमको तेल स्प्रे गर्ने तथा पहेला ट्रापको प्रयोग गर्ने र चिस्यान कम गर्ने ।
- ब्याक्टेरिया र ढूसी रोगबाट जोगाउन फर्मालीन तथा वेभिष्टिन झोल बनाई कपास भिजाई रोगग्रस्त ठाउँलाई राम्रोसंग पुछ्ने ।
- झिंगाबाट जोगाउन सरसफाइमा ध्यानदिने तथा नीमको झोल तथा तेल छर्ने ।
- मुसाबाट जोगाउन सफासुग्घर राख्ने र मुसा नियन्त्रणको विधि उपनाउने ।
१ के.जी. परालमा व्यवसायिक रुपले च्याउ उत्पादन गर्दा ८०० ग्राम ताजा च्याउ उत्पादन हुन्छ । यस हिसावले ९०० के.जी. परालमा ७२० के.जी. ताजा च्याउ उत्पादन हुन्छ । एउटा प्लाष्टिक घरमा वर्षमा ३ पटक ताजा च्याउ फलाउन सकिन्छ ।